Breaking News

चितवनका कुखुरामा देखियो एच ९ भाइरस, धमाधम मर्दै कुखुरा

Banner

चितवन, असोज १९–

चितवनमा पालिएका कुखुरामा एच ९ भाइरस देखिएपछि धमाधम कुखुरा मर्न थालेका छन् ।

भरतपुर महानगरपालिका–६ केशरबागका किसान खेमराज पाठकले पालेको ५ हजार बढी कुखुरा मरेका छन् । ती मरेका कुखुरालाई आज (सोमबार) खाल्डो खनेर गाडिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एच नाइन (९) भाइरस पुष्टि भएपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा.दयाराम चापागाईले नारायणी अनलाइनलाई जानकारी दिए । ‘काठमाडौंमा परीक्षण गर्दा एच ९ देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं’–डा.चापागाईले भने ।

उनले भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको ¥यापिड टेस्टमा बर्ड फ्लुको संकेत देखाए पनि काठमाडौंमा गरिएको परीक्षणमा एच नाइन भाइरस देखाएको बताए । एच फाइभ (५)लाई बर्ड फ्लु भनिन्छ । यो मानिसमा समेत सर्न सक्ने रोग भएकाले कुखुरालाई मार्ने गरिन्छ । तर केशरवागमा देखिएको रोग बर्ड फ्लु नभएको पुष्टि भएको छ ।

बर्ड फ्लु नभएपछि भरतपुर महानगरपालिकाका प्रतिनिधि, पशु प्राविधिक, वडाका प्रतिनिधिलगायतको उपस्थितिमा पाँच हजार बढी कुखुरा गाडिएको छ । तर कुखुरा पालक किसान खेमराज पाठकले आफ्नो कुखुरा बर्ड फ्लु भएरै मरेको दावी गर्दै हल्ला नफैलाउनका लागि माथिल्लो निकायबाट लुकाएको बताए । उनले भने–‘भरतपुरमा बर्ड फ्लु देखाउँदा काठमाडौंबाट एच ९ भन्ने जानकारी पाए, यो सबै लुकाउने काम भएको छ ।’ उनले पोल्ट्री फार्म नजिकै केही चराहरु समेत मरेको भेटिएको दावी गर्दै ठूला व्यापारीको दवाबमा बर्ड फ्लु लुकाउने काम भइरहेको दावी गरे । ‘हामी जस्ता साना किसानले न्याय पाउनु पर्छ भन्ने हो, यहाँ ठूलाको दवाबमा बर्ड फ्लुलाई लुकाउने काम भइरहेको छ ।’

उनले ६ दिनअघि एकैपटक तीन सय कुखुरा मरेको जानकारी दिए । लगत्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई जानकारी गराउँदा समेत तत्काल परीक्षणको व्यवस्था नभएको दुखेसो पोखे । ‘परीक्षणका लागि संकलन गरिएको नमुना ५ दिनसम्म भरतपुरमै राखिएको, धेरै दवाबपछि काठमाडौंमा परीक्षण गर्दा बर्ड फ्लु होइन भन्ने मलाई जानकारी गरायो, तर रिपोर्ट माग्दा रिपोर्ट आइपुगेको छैन भन्छ’–पाठकले गुनासो सुनाए । उनले यसबीचमा पाँच हजार बढी कुखुरा मरि सकेको जानकारी गराए ।

मरेको कुखुरा गाड्न पुगेका पशु प्राविधिक युवराज पौडेलले एच नाइन (९) भाइरस पुष्टि भएको जानकारी पाएपछि कुखुरा गाडेको बताए । उनले भने–‘बर्ड फ्लु होइन भन्ने पुष्टि भएपछि मरेकालाई मात्रै गाडेका हौं, अरुलाई मार्नु पर्ने अवस्था छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>