Breaking News
आजबाट ६५ स्थानमा दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, कुन सामानमा कति छुट ?

काठमाडौं, असोज १५-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा दशैं-तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले सुपथ मूल्य पसल सन्चालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।
‘नेपालीहरुको महत्वपूर्ण चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत सुपथ मूल्यमा सामान उपलब्ध गराउन लागिएको हो,’ मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत १६ स्थानमा सुपथ मूल्य पसल छन् । उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् ।
मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ।
त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् ।

























