Breaking News
साउदीमा १४ सहित विदेशमा थप २१ नेपालीको कोरोनाले ज्यान लिएको पुष्टि

लन्डन, असोज ११-
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो सातामात्रै साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जना गरी शनिबार साँझसम्म थप २१ जनाको मृत्यु भएको हो।
कोरोना संक्रमणका कारण अहिलेसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको ज्यान गइसकेको एनआरएनएले जनाएको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन्।
तीमध्ये ३५ हजार ७८ जना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो।
यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
























