Breaking News
चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो, भरतपुरमा मात्रै एक हजार बढी संक्रमित

चितवन, असोज १०–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार ७ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका सात वटै स्थानीय तहमा कोरोना संक्रमण पुगेको छ ।
शनिबार दिउँसोसम्ममा जिल्लामा कुल संक्रमितको संख्या एक हजार ७ सय ५२ रहेको कार्यालयले जनाएको छ । जिल्लामा संक्रमण घट्नुको साटो अझै बढ्ने क्रममा रहेको छ । मेडिकल सिटीको रुपमा रहेका चितवनमा अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीहरुमा पनि संक्रमण देखिदै छ । जसका कारण जिल्लामा ५० प्रतिशत संक्रमण अस्पतालबाटै फैलिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
चितवनमा सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । शनिबार दिउँसोसम्ममा भरतपुर महानगरपालिकामा संक्रमितको संख्या एक हजार ८८ पुगेको छ । दोस्रो स्थानमा रत्ननगर नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या २७९ रहेको छ । यहाँका मेयर नारायण वन पनि संक्रमित भएका छन् । उनी हाल होम आइसोलेसनमा रहेका छन् ।
यस्तै तेस्रो स्थानमा राप्ती नगरपालिका रहेको छ । यहाँ हालसम्म कुल संक्रमितको संख्या १३२ रहेको छ । यस्तै चौथो स्थानमा खैरहनी नगरपालिका रहेको छ । यस नगरमा संक्रमितको संख्या १२३ रहेको छ । यस्तै पाँचौँ स्थानमा कालिका नगरपालिका उक्लिएको छ । यहाँ कुल संक्रमितको संख्या ६२ रहेको छ भने छैटौं स्थानमा रहेको माडी नगरपालिकामा संक्रमितको संख्या ५६ रहेको छ । अन्तिममा एक मात्र गाउँपालिका इच्छाकामना रहेको छ । यहाँ हालसम्म संक्रमितको संख्या १२ पुगेको छ ।
























