Breaking News
नेपाल–चीन सीमा विवाद : हुम्लामा हराएको ११ नम्बर सीमा स्तम्भ भेटियो

काठमाडौँ, असोज ८-
नेपाल-चीन सीमा क्षेत्रको हराएको भनिएको हुम्लामा सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको हो ।
सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको छ ।
अहिले नाम्खा गाउँपालिका वडा नम्बर ६ को लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आएको थियो ।
नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ लाप्चाबाट सिधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्क समेत नहुने उक्त स्थानमा प्रमुख जिल्ला अधिकारीको टोलीले नेपाली सेना, सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमा स्तम्भ खोजीमा पठाएको थियो ।
अशाेज ३ गते शनिबार त्यस तर्फ गएकाे टाेलीले बुधबार उक्त सीमा स्तम्भ भेट्टाएको अध्यक्ष तामाङले बताए । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको हो । प्रजिअको टोली अझै सम्पर्कमा आउन सकेको छैन । अध्यक्ष विष्णु बहादुर तामाङले लोलुङजोङमा बनाएका भवन चीनले आफ्नै भूमिमा दाबी गरेको भए पनि हराएको ११ नम्बर पिलर नपाउँदासम्म पत्याउन नसकिने बताएका थिए ।
सीमास्तम्भ भेटिए पनि चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ बताउँछन् ।
























