Breaking News
रोजगारीमा वाग्मती प्रदेश सरकारको तीन अर्ब लगानी, विपन्न वर्गलाई विशेष प्राथमिकता

हेटौंडा, असोज ७-
वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्री परिषद्को बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन कार्यविधि समेत पास गरेको छ ।
कार्यविधि अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण तीन अर्ब ऋण लगानी गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । कृषि बैँक मार्फत हुने लगानीले देशमा रोजगार र व्यवसाय बढ्ने सरकारले अपेक्षा गरेको छ । लगानी पश्चात सरकारले बेरोजगार युवा जनशक्तिलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशिलतालाई प्रवद्र्धन गर्ने, उत्पादनशिल कार्यक्रमको लागि लगानी प्रवद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवम् रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनर्उत्थान गरिने मन्त्री ढुंगेलले जानकारी दिनुभयो । सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री सयोजक हुनेगरी निर्देशक समिति रहने छ । यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति पनि बनाइएको छ ।
प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन , व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग, महिला उद्यमशीलता,दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापन तर्फ ऋण लगानी गर्ने भएको छ।
यसै गरी बिहीबार बसेको बैठकले नै प्रहरी इकाई भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने , प्रदेश विश्वविद्यालयको भौतिक पूर्वाधार, बिधेयक, संगठनात्मक संरचना तथा पाठ्यक्रमको आधारभूत संरचना समेतका लागि सिफारिस गर्न कार्यदल गठन गरी काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिनुभयो ।























