Breaking News

दसैंमा पर्यटक आउने सौराहाका व्यवसायीको आशा,पुरानै अवस्थामा पुग्न २ वर्ष लाग्ने

Banner

चितवन,असोज ६-

निषेधाज्ञा खुकुलो भएपछि चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु बिस्तारै खुल्दैछन्। व्यवसायीहरुले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी गरिरहेका छन । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको थियो । त्यसको मारमा परेका व्यवसायीहरु अब भने बिस्तारै लयमा फर्कदैछन ।

पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत संचालनमा आएका छन् जसका कारण फेरिपनि पर्यटन क्षेत्रको चहलपहल बढ्ने विश्वास गरिएको छ। चितवनको सौराहा देशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड १९ संक्रमण रोकथामका लागि मापदण्ड पूरा गरी होटल सञ्चालनको तयारीमा छन्।

लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो । तत्काल पर्यटकहरु आउने सम्भावना नभएपनि सबै मापदण्ड पूरा गरेर होटल संचालन गर्न लागिएको उहाँले बताउनुभयो ।

चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुईबर्ष लाग्ने समेत भट्टराईको भनाई छ । बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकिँदै गरेकोले केही आन्तरिक पर्यटक आउने आशमा व्यवसायी छन । व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाई छ । सरकारले पुनर्कर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पुँजीको अभाव भएको पनि व्यवसयीहरुले बताएका छन ।

होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाई गर्ने, मर्मत गर्ने काममा आफुहरु व्यस्त रहेको बताउनुभयो । उहाँले होटल सुरु गर्नका लागि कर्मचारीहरुलाई १५/१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताउनुभयो । चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा पर्यटनमा आधारित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>