मनोरञ्जन
शम्भुजीत, डब्बु र सरिताले ल्याए गीति संग्रह ‘पहिलो भेटमै…’

काठमाडौं, असोज ४-
नयाँ गीतिसंग्रह ‘पहिलो भेटमै’ श्रोता माझ आएको छ ।
संग्रहमा अग्रज संगीतकार शम्भुजीत बास्कोटा र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा दुई वटा गीत रहेको छ । कोरोना संक्रमणका कारण आसपी दूरी कायम गर्दै वरिष्ठ संगीतकार बास्कोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसंग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा संयुक्तरुपमा सार्वजनिक गर्नु भएको हो ।
जसमा बजाई देउ बाजा…र पहिलो भेटमा…बोलको गीत रहेको छ । सो क्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफूले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटक संगीत गरेकोे बताउनु भयो । सरिता राम्री गायिका भएको र उहाँको यो गीतलाई दर्शकले मन पराउने बताउँदै बास्कोटाले शुभकामना पनि दिनुभयो ।
यस अघि मेरो जवानी…, लुडो र तास…, कोरोनाले देशै रोयो…रातो सारी लरक्कै…जस्ता सिंगल ट्रक एलबम निकाल्नु भएको सरिताले अग्रज संगीतकार बास्कोटासँग काम गर्न पाउँदा निकै कुरा सिक्ने अवसर पाएको बताउनु भयो । यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दशैं गीत र असोजको तेस्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उहाँले जानकारी गराउनुभयो । बिगत आधा दशकदेखि गायनमा सक्रिय सरिताले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेर गायन यात्र अघि बढाएकी हुन् ।
गीतकार क्षेत्रीले करिब सात वर्षपछि अग्रज संगीतकार बास्कोटासँग काम गर्ने अवसर जुरेको बताउनुभयो । अब बास्कोटासँग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उहाँले व्यक्त गनुभयो । ‘बजाई देउ बाजा’ लोक पप शैलीको गीत हो । जसमा अग्रज संगीतकार शम्भुजीत बास्कोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ । यो गीत नृत्यप्रधान बनेको छ । गीतको भिडियो भने केही सातापछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताउनुभयो । यस्तै यो संग्रहमा रहेको अर्को गीत पहिलो भेटमै…लाई जुगल डंगोलले संगीत गर्नुभएको हो । दुबै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो । यो लोक शैलीको गजललाई गायिका सरिता भारती आफैंले लेख्नु भएको हो । यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।
यसैबीच ‘पहिलो भेटमै’ गीतको भिडियो पनि रिलिज गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसँग गायिका सरिता भारती आफैंले मोडलिङ गर्नुभएको छ । रामशरण उप्रेतीले खिच्नु भएको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गर्नुभएको हो । डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।

























