चितवन विशेष

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि इच्छाकामना गाउँपालिकामा १० शय्याको आइसोलेशन

Banner

चितवन, असोज ३-

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख वासु सापकोटाका अनुसार सो गाउँपालिकामा हालसम्म १३ जना सङ्क्रमित पुगेका छन् । तीमध्ये आठ जनामा हाल पनि सङ्क्रमण रहेको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले सङ्क्रमित थपिएको अवस्थामा थकाली सेवा समाजको भवनमा थप पाँच श्यया विस्तार गरिने छ । यस्तै फिस्लिङमा पनि आइसोलेशन सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

हाल क्वारेन्टिन बनाइएका विद्यालयमा पनि आइसोलेशन बनाउन सकिने गुरुङको भनाइ छ । गाउँपालिकाले गरेको मेहेनत र स्थानीय जनताको साथ र सहयोगकै कारण हालसम्म सङ्क्रमण फैलन नपाएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालना गर्न गाउँवासीलाई अनुरोध गर्नुभयो । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५१४ पुगेको छ ।

पिसिआरमा अतिरिक्त शुल्क

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क रु दुई हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमूना सङ्कलनका लागि रु ५०० अतिरिक्त शुल्क अस्पतालले लिँदै आएको छ । उहाँले भन्नुभया,े “अस्पताल सञ्चालक समितिले निर्णय गरेकाले हामीलाई घटाउने अधिकार छैन ।” रिएजेण्टहरुको बोलपत्र भएकाले अबको खरिदमा मूल्य घटेमा समितिको बैठकले घटाउने निर्णय गर्ने उहाँको भनाइ छ । अस्पतालले भिटिएमसहित खर्चका लागि भन्दै स्वाब सङ्कलनमा अतिरिक्त रकम उठाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले पिसिआर परीक्षणमा रु दुई हजारभन्दा बढी कसैले लिन नपाउने बताउनुभयो । कसैले अटेर गरेमा कारवाही गरिने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अतिरिक्त शुल्क लिएको विषयमा आँफूले बुझ्ने जानकारी दिनुभयो । यहाँ भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा परीक्षण निःशुल्क गरिएको छ भने चितवन मेडिकल कलेजले रु दुई हजार मात्र लिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>