देश/प्रदेश
नयाँ ग्यास सिलिण्डर किन्न २१ सय रुपैयाँ धरौटी चाहिने

काठमाडौँ, असोज १-
नेपाल एलपी ग्यास उद्योग संघले सिलिण्डरको भाउ दुई हजार १०० रुपैयाँ तोकेको छ । यो मूल्य भन्दा कम वा महंगोमा बिक्री गरे डिलरलाई कारबाही गर्ने निर्णय संघले गरेको छ।
संघको मंगलबार बसेको कार्यसमिति बैठकले सो निर्णय गर्दै सुरुमा वाग्मती प्रदेशबाट सिलिण्डरको मूल्य तोकेको हो। विस्तारै देशैभरि मूल्य तोक्ने संघले जनाएको छ। ‘अहिले हामीले सस्तोमा सिलिण्डर बेच्ने तर उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता छ,’ संघका अध्यक्ष गोकुल भण्डारीले भन्नुभयो ‘अब उपभोक्ताले २१ सय भन्दा बढीमा किनेको उजुरी गरेमा तत्कालै त्यो डिलरलाई ग्यास दिन बन्द गरिनेछ।’ सिलिण्डर बेचे वापत डिलरले सय रुपैयाँ पाउनेछन्।
उद्योगीले अब बसाइँसराइँ भएमा उपभोक्ताले धरौटी रकम फिर्ता दिने बताएका छन्। ‘बसाइँसराइँको कागज ल्याउनेवित्तिकै उपभोक्ताले धरौटी रकम फिर्ता पाउनेछन् । त्यो भन्दा बाहेक उद्योग बन्द भएमा पनि रकम फिर्ता पाउनेछन् ’, संघका अध्यक्ष भण्डारीले भन्नुभयो , ‘त्यही भएर हामी सबै उद्योगीले एउटा धरौटीको कुपन दिने निर्णय गरेका छौं। त्यो कुपनका आधारमा रकम फिर्ता पाउनेछन्।’
























