Breaking News
गरिब र मजदुरलाई दशैं खर्च दिउँः पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

चितवन,भदौ ३१-
पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद सुरेन्द्र पाण्डेले मजदुर र गरिब परिवारलाई दशैं खर्च दिन सरकारलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र पुनरउत्थानको बाटो विषयक अन्तक्रिया कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् । पाण्डेले सरकारले बेरोजगार रहेका र स्वतन्त्र मजदुर निकै जटिल अवस्थामा रहेको भन्दै उनीहरुलाई दशैंमा भत्ता दिन आग्रह गरेका छन् ।
व्यवसायीले पनि मजदुरलाई कसरी जोगाउनेतर्फ सोच्न उनले आग्रह गरे । मजदुर नरहे व्यवसाय पनि नहरने भन्दै उनले त्यसतर्फ ध्यान दिन आग्रह गरे । अहिले कोरोनाले निम्त्याएको व्यवस्थाभित्र बसेर काम गर्न तर्फ लाग्नुपर्ने उनको भनाइ छ । लुकेर घरमा बस्नु नै न्यू नर्मल नभएको भन्दै यो बेलामा व्यवसाय कसरी अघि बढाउने भन्नेमा व्यवसायीलाई ध्यान दिन आग्रह गरे ।
कोरोनाका कारण सृजना भएको अवस्थामा उद्योगी व्यवसायीले नाफा कम भयो भनेर भन्नु भन्दा पनि व्यवसायलाई निरन्तरता दिन सुझाव दिएका छन् । उनले उद्योगी व्यवसायीलाई नाफा कम वा बढी हुनेतर्फ नसोच्न आग्रह गर्दै कर्मचारीलाई सिफ्ट अनुसार काम लगानुपर्ने बताए । सरकारले पनि लकडाउनपछि अब के गर्ने, के नगर्ने भनेर निर्धारण गर्न आवश्यक रहेको र छिमेकी तथा मित्र राष्ट्रहरु कसरी अघि बढेका छन, त्यो शैलीलाई पछ्याउँदै अघि बढ्नुपर्ने धारणा राखे ।
‘कोरोनापछि हामीले ७/८ महिनाको अनुभव लिइसकेका छौं, अब त्यो अनुभवको सारंशलाई सँगै लिएर हिँडनुपर्छ’ उनले भने । ‘पूर्णरुपमा खोल्न वा पूर्णरुपले बन्द गर्नु भन्दा पनि बीचको बाटोमा हिँड्नु पर्छ, अहिले व्यवसायीलाई बचाउन सकेको खण्डमा पछि तंग्रिन दौडन सकिन्छ’ उनले भने ‘अहिले जोगाउन समस्या भएको छ, यसमा सरकार, निजी क्षेत्रको भूमिका राम्रो हुनुपर्यो ।’
चाडबाडको समयमा मानिस सहरबाट गाँउ जाने र आउँदा गर्ने र यसो गर्दा कोरोना सर्न सक्ने सम्भावना रहेको भन्दै गाँउ जानेको रेकर्ड राख्न आग्रह गरेका छन् । गाँउमा जाँदा उनीहरुले अबलम्बन गर्नुपर्ने मापदण्डको विषयमा जानकारी दिन सुझाव दिए । गाँउ जाने आउनेको स्वास्थ्य परीक्षणमा ध्यान दिन आग्रह गरे ।
























