Breaking News

लकडाउनले गाडीको व्यापारमा ५० प्रतिशत कमी, वीरगंजमा रोकिए १५ सय कार

Banner

वीरगंज, भदौं ३१-

नेपालमा बढ्दो कोरोना संक्रमणको कारणले दसैं सुरु हुन लाग्दा पनि वीरगंज नाकाबाट पहिले जस्तो गाडी आयात भएको छैन। मोटरसाइकलदेखि विलासी कार र हेभी सवारी साधनहरु भन्सार कार्यालयमा नै रोकिएका छन् ।

चैत ११ देखि नेपालमा शूरु भएको लकडाउन र निषेधाज्ञाको कारण बजार बन्द छन्। सडकमा गाडी गुडन पाएका छैनन्, शोरुममा राखिएको कारहरु बिक्री नभएर त्यसै थन्किएका छन्। यो अवधिमा गाडीको व्यापार झण्डै ५० प्रतिशतले घटेको छ। लकडाउनमा ३० प्रतिशत हाराहारीमा घटेको गाडीको ब्यापार निषेधाज्ञामा ठप्पै भएको थियो। यही कारण आयात गरिएका गाडी भन्सारमै थन्किएको हो।

अब दसैंमा केही माग आउने भएकाले गाडी छुट्ने क्रम सुरु हुने व्यवसायी बताउँछन्। तर विगतको जस्तो व्यापारको सम्भावना भने कम छ।गाडी आयातमा फेरबदल भएको भन्सार नीतिको कारण खर्बौको लगानीको रहेको यो व्यवसाय संकटपूर्ण अवस्थामा छ । चालु आर्थिक वर्षको बजेटमा विद्युतीय गाडीको आयातमा कडाई गर्दै राजस्वको दर बढाउँदा अहिले विद्युतीय गाडीहरु पनि भन्सार नाकामै होल्ड भएर खिया लाग्न सुरु भएको छ।

वीरगंजमा अहिले तीन वटा भन्सार नाकामा एक हजार ५ सय सवारी साधनहरु होल्ड भएर बसेको भन्सार अधिकारीहरुले बताएका छन्। वीरगंज भन्सारको पुरानो भन्सार नाकामा ३०० कार, आइसीपी नाकामा एक हजार १४ गाडी (ट्रक, ट्रिपर, कार, जिप भ्यान, ट्रयाक्टर, लरी) गरी करिब १३ सय गाडी अड्केका छन् भने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्डमा करिब २०० विभिन्न ब्रान्डका गाडीहरु रहेका छन्। कुल गाडीमध्ये ८० प्रतिशत विलासी कारहरु रहेका छन्। मारुती सुजुकी, हुन्डाई, महिन्द्रा, किया, ईसुजु, फोर्ड, टोयोटा, निसान लगायतका गाडीहरु रहेको आइसिपी भन्सार सञ्चालन हेर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति, आइसिपी वीरगंजका वरिष्ठ सहायक प्रकाशकुमार झाले बताउनुभयो । उहाँका अनुसार २ दिनदेखि ५३२ दिनसम्म पनि होल्ड भएको थुप्रै कारहरु रहेको जानकारी दिनुभयो । उहाँका अनुसार २ दिनदेखि ८ दिनसम्म २७३ रुपैयाँ प्रतिदिन लाग्छ भने त्यसपछि हरेक दिनको ५३२ रुपैयाँ पार्किङ शुल्क जोडिने जाने नियम छ।

आइसीपीमा रोकिएका करिब एक हजार १४ वटा गाडीको मात्रै पार्किङ शुल्क तीन करोड ८ लाख असुल गर्न बाँकी रहेको उहाँले बताउनु भयो । होल्ड भएका गाडीको पार्किङ बढदै जाँदा पछि आयातकर्तालाई थप भार पर्दै जान्छ।

हुन्डाई ब्रान्डको कार आयात गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टल लिमिटेडले गत जेठ अगावै मगाएको २७ वटा विद्युतीय कार पनि जाँचपास हुन नसकेर थन्केर बसेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, कन्टिनेन्टल ट्रेडिङले आयात गरेको किया, जिओ अटो मोबाइल्सले आयात गरेको फोर्ड ब्रान्डको कार, अग्निले आयात गरेको महिन्द्राको गाडीहरु, सिप्रदीले आयात गरेको टाटाको गाडीहरु, चौधरी समूहले मगाएको मारुती सुजुकी कार, जापानीज ब्रान्डको टोयोटा र निसानका गाडीहरु पनि होल्ड भएको छ।

त्यसैगरी १० वटा टोयोटाको प्राडो पनि होल्ड भएको छ। बजार बन्द र माग कम भएपछि गाडी आयातकर्ताहरुले गाडी भन्सार विन्दुबाट नछुटाएको भन्सार अधिकारीहरुले बताएका छन्। वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार डिजेल पेट्रोलबाट चल्ने विलासी गाडीको आयातमा ६० देखि ८० प्रतिशत सम्म भन्सार महसुल, शतप्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ८ प्रतिशत सडक निर्माण दस्तुर जोड्दा करिब २०० प्रतिशत राजस्व तिर्नु पर्छ। त्यसकारण गाडी बुक भएर ग्राहक किन्न पक्का भएपछि मात्र भन्सार नाकाबाट गाडी छुटाएर शोरुममा लाने गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>