Breaking News
भारतीय प्रतिबन्धसँगै चितवनमा प्याजको भाउ आकाशियो, दुई दिनमै किलोको ७२ रुपैयाँ

चितवन, भदौं ३१-
चाडपर्वको सिजन सुरु भएसँगै भारतले प्याजको निकासीमा रोक लगाउने निर्णय गरेको भोलिपल्ट चितवनको बजारमा प्याज पाइन छाडेको छ । चाडबाड नजिकिएको बेला भारतले प्याजको निकासी रोकेपछि बजारमा प्याज अभाव सुरू भएको हो।
भारतको केन्द्रीय सरकारले सोमबार एक सूचना जारी गर्दै प्याजको निकासी प्रतिबन्ध लगाएको हो। भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना पाउने वित्तिकै व्यापारीहरूले प्याज लुकाउन थालेका छन्।
यस्तै, प्याजको मूल्य समेत एकैदिनमा आकाशिएको छ । केही दिन अघिसम्म होसलसेल मूल्यमा १८ किलो प्याजको चितवनमा ८७५ रुपैयाँमा किनबेच भएको थियो । बोरामा २० केजी भने पनि बोरामा १८ केजी मात्र प्याज रहन्छ । जसले किलोको ४८ रुपैयाँ बढी पर्दथ्यो तर अहिले भारतले प्याज रोक्यो भन्ने बित्तिकै चितवनमा प्याजको अभाव हुन थालेको छ । मंगलबारको थोक बजारमा प्याजको भाउ १८ किलोको एक हजार १०० रुपैयाँ पुगेको छ । जसको प्रतिकिलो ६१ रुपैयाँ पर्न जान्छ । भरतपुर महानगरपालिका–११ बसेनीमा प्याजको व्यापार गर्दै आउनुभएको उमेश अधिकारीले बजारमा खोजेजति प्याज पाउन छाडेको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ प्याज धेरै खपत हुने समयमा फेरि प्याजको अभाव हुने भयो ।’ खुद्रा पसलमा त प्याजको मूल्य ७० देखि ७५ रुपैयाँसम्म पुगेको छ ।
व्यवसायी रामराज पाण्डेले केही दिन अघिसम्म ६० रुपैयाँमा बिक्री भइरहेको प्याज अहिले ७० र ७२ रुपैयाँ पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्याजलाई जोगाएर राख्न नसक्ने भएकोले पनि चितवनमा प्याजको खासै खेती गरिन्न । उत्पादनमा पनि प्याज खर्चिलो छ त्यसैले चितवनको बजार पूर्णतया भारतीय बजारमा नै निर्भर छ ।’
भारतले निकासी रोकेपछि बजारमा प्याजको कृत्रिम अभाव भएको छ। होलसेलबाट प्याज आउन छाडेको खुद्रा व्यापारीहरूले बताएका छन्। नेपाल प्याजमा परनिर्भर छ र बजारको माग भारत र चीनबाट आउने प्याजले धान्दै आएको छ। तर, दसैँको मुखैमा प्याजको निर्यातमा प्रतिबन्ध लाग्दा अभाव हुने निश्चित जस्तै बनेको हो। फलफूल तथा तरकारी थोक व्यवसायी थिरप्रसाद धितालले भारतमा प्याजको मूल्य बढ्न थालेपछि स्वभाविकरुपमा चितवनमा पनि मूल्य बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाडपर्वमा भारतले प्याज रोक्दा यसको मार सर्वसाधारण नागरिकलाई पर्छ ।’
























