Breaking News

भरतपुरको केरूङ्गा घोलको मुहार फेरिँदै, डुंगा सयरसम्मको योजना

Banner

चितवन, भदौं २९-

भरतपुर महानगरपालिकाको गणेशधामबाट सुरू भई जगतपुरको राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको मुहार फेरिने भएको छ । जसबाट भरतपुर महानगरको सुन्दरतासमेत झनै बढ्ने अपेक्षा गरिएको छ ।

झन्डै ३० किमी लामो रहेको यस घोलले अब नयाँ स्वरुप ग्रहण गर्दै छ । यस घोलको गुरूयोजना सम्पन्न भई ड्रेनको डीपीआरको काम चलिरहेको महानगरपालिकाले जनाएको छ ।  यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने प्रदेश सांसद विजय सुवेदीले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘केरुङ्गा खोलालाई व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ । बर्खामा खोलाले डुबानमा पार्ने भएकोले पनि सुरक्षित ढंगले सौन्दर्यकरण हुने छ ।’ सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस खोलाको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताउनुभयो । उहाँले बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा खोलालाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘ शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै खोलामा मिसाइने छ । जसबाट जल प्रदूषणमा समयमा नै नियन्त्रण आउनेछ । घोललाई व्यवस्थित गरेपछि ढुंगा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन् ।’

भरतपुर महानगरपालिकाको शहरी विकासको योजनाकार आर्किटेक्ट अस्मिता खनालले शहरीकरणसँगै नदी क्षेत्र अतिक्रमित हुँदै जाने भएकोले पनि पार्क बनाएर संरक्षण गर्ने योजना बनाइएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘बर्खाको समयमा खोला घरघरमा पस्ने समस्या देखिएकोले पनि खोलालाई पार्क बनाएर व्यवस्थित गर्न आवश्यक छ । यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्काेतिर पार्कहरु बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिन्छ । ’ उहाँले सुरुमा १५ किलोमिटर जति काम चाही छिट्टै सुरु गर्ने योजना बनेको जानकारी दिनुभयो । उहाँले निकै महत्वाकांक्षी योजना भएकोले पर्यटन मन्त्रालयसँग पनि बजेटको लागि पहल गरिने बताउनुभयो ।

फोहोर पानी बग्ने केरूङ्गाको घोलमा होचो भाग भएकाले भरतपुरका विभिन्न क्षेत्रका ढलहरु मिसाउने गरिएको छ । अब फोहोर र सफा पानी एकै क्षेत्र तर दुई फरक अवस्थामा बग्ने बनाउने तयारी भएको छ । ढल मिसावट फोहोर पानीका लागि टनेल बनाउने र केरूङ्गामा भने सफा पानी बग्ने बनाउने गरी डिपिआर अन्तिम चरणमा पुगेको सांसद् सुवेदीले बताउनु भयो । हिउँदको महिनामा पनि नारायणी लिफ्टको पानी हालेर केरूङ्गामा डुंगा चलाउने योजना प्रदेश सरकार र महानगरको रहेको छ ।

व्यवस्थित बन्ने भनिएको केरूङ्गामा डुंगा सयर, दुवैतर्फ पार्क निर्माण, दुवैतर्फ साइकल लेन, हिँड्ने बाटो, मिनी सप, विभिन्न स्थानमा आकर्षक पुल, हरियाली रहने छ । भरतपुर महानगरका वडाहरु क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३, २४ भएर केरूङ्गा बग्ने गरेको छ । भरतपुर महानगर वडा नं–९ र ११ ले आफ्नो वडासम्म केरूङ्गा ड्रेनको सीमांकनसमेत गरिसकेका छन् । यस आयोजनाले संघीय निर्वाचन क्षेत्र २ र ३ साथै प्रदेश निर्वाचनको भने ३ वटा क्षेत्र समेट्छ । भोलि काठमाडौँको वाग्मती र विष्णुमती जस्तो यो खोला प्रदूषित हुन नदिन पनि यो योजना आवश्यक देखिन्छ । यसको सही व्यवस्थापन गरेर ढलको पानीलाई निर्मलीकरण गर्दै केरुङ्गा खोलामा फाल्न सकेमा भरतपुरका विभिन्न क्षेत्रमा हुने डुबानको पनि व्यवस्थापन हुने विज्ञहरुको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>