Breaking News
बाल दिवसमा प्रधानमन्त्रीको घोषणाः नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ बनाइने

काठमाडौं, भदौ २९–
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ बनाउने घोषणा गरेका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस आर्थिक वर्ष भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको बताए । अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पुरा हुन नसकी सढकमा बेवारिसे जीवन बिताइ रहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने कामको थालनी समेत भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
उनले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताए ।
‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पारेका छन् ।























