Breaking News

रत्ननगरको निर्मल सहकारीले मलमा कालोबजारी गरेको प्रशासनको ठहर, जरिवाना गरि मल जफत

०
Banner

चितवन, भदौ २८–

जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वीचितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ ।

सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर गर्दै प्रतिवादी चार जनालाई जनही १० हजार रुपैयाँ जरिवाना गराएको छ ।

यस्तै सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने प्रशासनले निर्णय गरेको सूचना अधिकारी इश्वर सिंखडाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘सहकारीले मलमा कालोबजारी गरेको ठहर भएको छ, कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेका छौं ।’ पक्राउ परेका सहकारीका रामकृष्ण तिम्सिना, विनोद अधिकारी, निर्मला घिमिरे र मायानाथ अर्यालले जनही दश हजार रुपैयाँ जरिवाना तिरेका छन् ।

यस्तै जिल्ला प्रशासनले जफत गरिएको मल विक्री वितरणका लागि स्थानीय तहलाई जिम्मा दिने र बो बापतको रकम सरकारको राजश्व खातामा जम्मा गर्ने निर्णय भएको सिंखडाले बताए । यस्तै जिल्ला प्रशासनले सो सहकारी संस्थालाई थप कारवाही गर्नका लागि स्थानीय तह रत्ननगर नगरपालिकालाई पत्र पठाएको छ । सहकारी संस्थाहरु स्थानीय सरकारसंग अनुमति लिएर संचालनमा रहेकाले सोही अनुरुप स्थानीय तहबाट पनि कारवाही गर्नका लागि पत्र पठाएको हो ।

कालोबजारी गरेर अपराध गरेको भन्दै प्रशासनले उनीहरुलाई कारवाही गरिएको व्यहोरोको सार्वजनिक सूचना समेत जारी गर्ने निर्णय गरेको छ । सो सहकारीले अनुदानको मल प्रतिबोरा ७ सय ५० किनेर १२ सय ५० मा विक्री गरेको आरोप लागेको थियो ।

निर्मल सहकारीले ठेक्कामा डिपो चलाएको समेत आरोप लागेको छ । सो सहकारीले मल बिक्री बापत २५ रुपैयाँ दिने सर्तमा ठेक्कामा दिएको स्रोतले जनाएको छ । निर्मल सहकारीमा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीको हालिमुहाली छ । सहकारीले मल बिक्री गर्ने प्रतिनिधि पनि अध्यक्ष रेग्मीका भाइ सबिन रेग्मीलाइ तोकेको छ ।

सबिन रेग्मी सोही घरमा रहेको आगमन सहकारीका अध्यक्ष समेत हुन । संघका अध्यक्ष रेग्मी संचालक रहेको कृषि सामाग्री सप्लायर्स, निर्मल सहकारी र आगमन सहकारी उनको आफ्नै घरमा छ । सहकारीको मल कृषि सामाग्री सप्लायर्स मार्फत बिक्री वितरण हुँदै आइरहेको छ । अनुदानको मल रेग्मी दाजुभाइले विना बिल सोही सप्लायर्स मार्फत विक्री गरेको रहस्य बाहिर आएपछि प्रशासनले अनुसन्धान अघि बढाएको थियो ।

निर्मल सहकारीका अध्यक्ष ओमलाल सापकोटाले सहकारीलाई २५ रुपैंया दिनेगरी डिपो संचालन गर्न दिइएको बताए । सापकोटाले डिपोले मल महँगोमा बिक्री गरेको समेत विज्ञप्ती मार्फत स्वीकार गरेका छन् ।

निर्मल सहकारीका संस्थापक अध्यक्ष समेत रहेका राजाराम र भाइ सविनले कृषि सामाग्री सप्लायर्स मार्फत लामो समयदेखि मलको कारोबार गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>