Breaking News

रत्ननगरको निर्मल सहकारीविरुद्ध कालोबजारी मुद्धा, चार जना नियन्त्रणमा

Banner

चितवन,भदौ २७-

मलको कालोबजारी गरेको आरोपमा चितवनको रत्ननगरमा रहेको निर्मल बहुउदेश्यीय सहकारी संस्थाविरुद्ध मुद्धा दर्ता भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार सहकारीमा आबद्ध चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो । पक्राउ पर्नेहरुमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल र निर्मला घिमिरे रहेका छन । कालोबजारीका बिषयमा थप अनुसन्धान भइरहेको प्रजिअ भट्टराइले बताए । सो सहकारीले अनुदानको मल प्रतिबोरा ७ सय ५० किनेर १२ सय ५० मा विक्री गरेको आरोप लागेको छ । पक्राउ परेका मध्य केहीलाई प्रहरीले तारेखमा छाडेको छ ।

“यो समयमा देशभर मलको अभाव छ,उनले भने,यस्तो अभावको समयमा पनि केही सहकारीले अस्वाभाविक मूल्यमा बेच्ने गरेको पाइएको छ ।” भट्टराइले मलमा कालोबजारी गर्नेलाई कारवाही गरेरै छाड्ने दाबी गरे ।

निर्मल सहकारीले ठेक्कामा डिपो चलाएको समेत आरोप लागेको छ । सो सहकारीले मल बिक्री वापत २५ रुपैंया दिने सर्तमा ठेक्कामा दिएको स्रोतले जनाएको छ । निर्मल सहकारीमा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीको हालिमुहाली छ । सहकारीले मल बिक्री गर्ने प्रतिनिधि पनि अध्यक्ष रेग्मीका भाइ सबिन रेग्मीलाइ तोकेको छ ।

सबिन रेग्मी सोही घरमा रहेको आगमन सहकारीका अध्यक्ष समेत हुन । संघका अध्यक्ष रेग्मी संचालक रहेको कृषि सामाग्री सप्लायर्स, निर्मल सहकारी र आगमन सहकारी उनको आफ्नै घरमा छ । सहकारीको मल कृषि सामाग्री सप्लायर्स मार्फत बिक्री वितरण हुँदै आइरहेको छ । अनुदानको मल रेग्मी दाजुभाइले विना बिल सोही सप्लायर्स मार्फत विक्री गरेको रहस्य बाहिर आएपछि प्रशासनले अनुसन्धान अघि बढाएको हो ।

निर्मल सहकारीका अध्यक्ष ओमलाल सापकोटाले सहकारीलाई २५ रुपैंया दिनेगरी डिपो संचालन गर्न दिइएको बताए । सापकोटाले डिपोले मल महँगोमा बिक्री गरेको समेत विज्ञप्ती मार्फत स्वीकार गरेका छन ।

निर्मल सहकारीका संस्थापक अध्यक्ष समेत रहेका राजाराम र भाइ सविनले कृषि सामाग्री सप्लायर्स मार्फत लामो समयदेखि मलको कारोवार गर्दै आइरहेका छन । जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेलले कुनैपनि सहकारीले मल विक्री गर्न ठेक्कामा दिन नपाइने बताए । सहकारीले आफ्ना शेयर सदस्यलाई डिपोमार्फत विक्री गर्नुपर्ने उनले जानकारी दिए । चितवनमा पहिलो चरणमा २६० र दोस्रो चरणमा ५०० मेट्रिकटन मल आयात भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>