Breaking News

माडीमा हुलाकी सडक धमाधम निर्माण हुँदै, दसैँसम्म पिच सक्ने निर्माण कम्पनीको दाबी

Banner

चितवन, भदौं २७-

लकडाउनले रोकिएको माडी–ठोरी–भरतपुर सडकखण्डअन्तर्गत रिउ खोलाको किनारबाट परुवी खोलासम्मको निर्माण कार्य पुन सुरु भएको छ ।

विसं २०७३ मंसिर ५ गते ठेक्का पाएको आशिष निर्माण कम्पनीले अहिले धमाधम पिचको तयारी गर्दै छ । कम्पनीले दसैँसम्ममा पिचको काम सक्ने जनाएको छ । गत जेठमा नै निर्माणको काम सक्नुपर्ने भए पनि कम्पनीले लकडाउनको कारणले चैतबाट काम रोकेको थियो । जेठमा पुन म्याद थप भएपछि कम्पनीले यही भदौं ८ गतेबाट काम सुरु गरेको हो । अहिले वनकट्टास्थित रिउ किनारबाट देवेन्दपुरको परुवी खोलासम्मको १५.२ किलोमिटर सडक पिचको तयारी भइरहेको छ । सडक ७.५ मिटर चौडा रहने छ । अहिले चिरौली चोकबाट सिधुवा चोकसम्म बेस बनाउने काम भइरहेको छ ।

माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले पटक पटक विभिन्न कारणले रोकिएको सडक निर्माण कार्यले अहिले गति लिएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘दसैँसम्ममा सबै सडक निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।’
संघीय सरकारको २० करोड ४४ लाख बढी रकममा सो सडक निर्माणको काम सुरु भएको हो । कम्पनीले काम समयमै सम्पन्न गर्न चाहेर पनि यसअघि वातावरणीय प्रभाव मूल्याङ्न (ईआईए) नगरिएको, कहिले निकुञ्जका कारण समस्या देखिनु त कहिले खोलानदीबाट सहजै कच्चा पदार्थ प्रयोग गर्न नपाउनु जस्ता कारणले निर्माण कार्यमा ढिलाइ भएको थियो । कम्पनीले समयमा सडक निर्माण गर्न नसक्दा स्थानीय बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने अवस्था रहेको थियो । स्थानीयले व्यापक विरोध गरे पछि निर्माण कम्पनीले केही समय ट्यांकर लगाएर बाटोमा पानी छर्किएको थियो ।

माडी–ठोरी–भरतपुर सडकखण्ड विसं २०७५ वैशाख ४ गते निमार्ण गरिसक्नुपर्ने गरी २०७३ मंसिर ५ गते ठेक्का सम्झौता गरिएको थियो । यस मितिमा निर्माण सम्पन्न त परको कुरा कम्पनीले सुरु सम्म गर्न नसकेपछि विसं २०७७ साल जेठ २२ गते सम्म सक्ने भनी म्याद थप माग गरिएकोमा स्वीकृती प्रदान गरिएको थियो । अन्य पक्षबाट कुनै रोकावट नभए २०७७ वैशाखसम्म मै सबै काम पूरा हुने ठेकेदार पक्षको दाबी भए पनि कोरोनाको कारणले भएको लकडाउन कारण देखाउँदै चैतमा नै काम रोकिएको थियो । त्यसैगरी परुवीबाट बगईसम्मको ९ किलोमिटर बढी सडक निर्माणको ठेक्का पनि भइसकेको माडी नगरपालिकाले जनाएको छ ।

फोटो : श्री दवाडी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>