Breaking News
चितवनमा निर्माणाधिन क्रिकेट रंगशालालाई प्रदेश सरकारले रकम उपलब्ध गराउने

चितवन,भदौ २६-
बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्माले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अवलोकन गर्नुभएको छ । चितवनको रामपुरमा निर्माणाधिन रंगशालाको अवलोकन गर्दै उहाँले प्रदेश सरकारले बजेट मार्फत विनियोजन गरेको रकम छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, प्रदेश सरकार रकम उपलब्ध गराउने कुरामा सकरात्मक छ,परियोजनाको प्रगती देखेर म उत्साहित भएको छु । युवा तथा खेलकुद मन्त्रालयमा सहसचिव हुँदा पनि सकरात्मक रहेको भन्दै उहाँले रकम उपलब्ध गराउने विधिको विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भरतपुर महानगरपालिकाले पनि रंगशाला निर्माणका लागि रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
प्रदेश सरकारले रंगशाला निर्माणका लागि तीन करोड बजेट विनियोजन गरेको छ । अघिल्लो बर्ष विनियोजन भएको पाँच करोड रुपैंया फ्रिज भएको थियो । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले रंगशालाको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कोरोनाको कहरका समयमा पनि निरन्तर काम भइरहेको बताउनुभयो । उहाँले जटिल अवस्थामा उधारोमा काम गरिरहेकाले रकम अभावका कारण भुक्तानी गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले प्रदेश सरकारबाट विनियोजन भएको रकम तत्काल उपलब्ध गराइदिन अनुरोध समेत गर्नुभयो । “नीजि क्षेत्रलाई यो अवस्थामा सहयोग गरिदिनुहोस भन्ने अवस्था छैन,उहाँले भन्नुभयो’, यो अवस्थामा सरकारले बुझिदिनुपर्छ ।”
यस्तै प्रमुख सचिव विश्वकर्माले आजै भरतपुरको गणेशधाम र यातायात कार्यालय निर्माणका लागि सम्भावित जमिनको समेत अवलोकन गर्नुभएको छ । प्रदेश सरकारको सहयोगमा गणेशधाम निर्माण भइरहेको छ । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
























