चितवन विशेष
‘हामी खाना खुवाउछौ’ अभियानमा लियो क्लवहरु सक्रिय

आशिष उप्रेती
चितवन, भदौ २४–
चितवनका लियो क्लवहरु खाना खुवाउने अभियानमा सक्रियता देखाएका छन् ।
लायन्स क्लब अफ चितवन पर्सा, लियो क्लब अफ चितवन पर्सा, लियो क्लब अफ भरतपुर युथ र बेवारिसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनको संयुक्त आयोजनामा आज (बुधबार) नारायणगढको नारायणी नदि किनारमा अनाथ, असहाय र अलपत्र परेका ब्यक्तिहरुलाई खाना खुवाएको छ । यसरी खाना खुवाउने कार्यक्रम केही दिन अगाडिबाट नै बेवारीसे ब्यबस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनले विभिन्न संघ संस्था र क्लवहरुसंग सहकार्य गरी खाना खुवाउने कार्यक्रम गर्दै आइरहेको छ । आज भने लायन्स क्लब अफ चितवन पर्सा, लियो क्लब अफ चितवन पर्सा र लियो क्लब अफ भरतपुर युथसंगको सहकार्यमा ‘हामी खाना खुवाउछौ’ भन्ने कार्यक्रम गरिएको हो ।
आज २ सय भन्दा बढि असहाय ब्यक्तिहरुलाई खाना खुवाईएको लियो क्लव अफ चितवन पर्साका कार्यक्रम संयोजक समिर लामा तामाङले जानकारी दिनुभयो । असहाय, अशक्त, सडकमा अलपत्र परेका र कोरोनाका कारणले खाना खान नपाएका ब्यक्तिहरुलाई खाना खुवाईएको उहाँले बताउनुभयो ।

आगामि दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरु गर्दै असहाय, अशक्त ब्यक्तिहरुका लागि अझै सक्रिय रुपमा सहयोगका लागि आफूहरुको क्लव लाग्ने उहाँले बताउनुभयो।
केही दिनदेखि सञ्चालन भएको यस खाना खुवाउने कार्यक्रममा बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनले दैनिक २ सय देखि २ सय ५० सम्म असहाय ब्यक्तिहरुलाई खाना खुवाउदै आईरहेको छ । कोरोनाका कारण काम नभएपछि भोकाएका मानिसहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि चितवनका विभिन्न संघ संस्था र क्लवहरुसंग सहकार्य गरेर निःशुल्क खाना खुवाउने कार्यक्रम सुरु गरिएको बेवारिसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवन शाखाकी संयोजक सीता कुँवरले बताउनुभयो ।
सबै उमेर समूहका बालबालिकादेखि वृद्धसम्म यसरी खाना खान हरेक दिन आउने गरेको र भोकमा खानाको प्यास मेटाएर जाने गरेको उहाँले बताउनुभयो। खाना खुवाउनको लागि चितवनका विभिन्न क्लबहरुदेखि व्यक्तिहरुको तर्फबाट ब्यक्तिगत सहयोग तथा अन्य संघसंस्थाले पनि सहयोग गरिरहेको उहाँले बताउनुभयो । कसैको जन्मदिन, वैवाहिक वर्षगाठको अवसर पारेर पनि खाना खुवाउनका लागि व्यक्तिहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।
सुरुवाती दिनहरुमा आर्थिक सहयोग पनि गरेको सो क्लवले पछिल्ला दिनहरुमा खाना पकाउने र खुवाउने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ । केही दिन अघिदेखि नै आफूहरुले यसरी खाना खुवाइरहँदा कुनै पनि सरकारी निकायको सहयोग भने नपाएको उहाँले बताउनुभयो । खाना खुवाउनका लागि मात्रै दैनिक १५ हजार खर्च हुने गरेको उहाँले बताउनुभयो ।
खाना खुवाउने कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवन शाखाका उपसंयोजक प्रकाश थापा, लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका जिल्ला निर्देशक रुपेश भट्ट, महेन्द्र सिग्देल, लियो क्लव अफ चितवन पर्साका उपाध्यक्ष नितिन बस्नेत लगायतका क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।
























