Breaking News

चितवनका व्यवसायी भन्छन्: सडकमा मनपरी सवारी चेकजाँच गर्नु प्रशासनको गैरजिम्मेवारी

Banner

चितवन, भदौं २३-

जिल्ला प्रशासन कार्यालयले चितवनमा पसल र व्यवसाय खोल्ने अनुमति दिएसँगै व्यवसायी उत्साही भए पनि अनावश्यक चेकजाँचले नागरिक भने निराश बनेका छन् ।

पसल खुल्ने समयमा नै सडकमा अत्यावस्यक सामान किन्न वा बैँकमा हिडेका सर्वसाधारणलाई प्रहरीले धमाधम चेकजाँच गर्दै जरिवाना गर्न थालेपछि नागरिक निराश बनेका हुन् । बजार खुल्यो भनियो तर ग्राहक कसरी जाने के गर्ने भन्ने पर्याप्त जानकारी नदिई प्रशासनले रोकतोक गर्दा उनीहरु बाटोमा नै अलमल परेका छन् । यसबारे व्यवसाय तथा उद्योग खोल्ने माग राख्ने उद्योग वाणिज्य संघ र चितवन उद्योग संघ पनि बेखबर नै छन् ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले व्यापार खुला भनेको समयमा नै बाटोमा चेकजाँच गरेर ५०० रुपैयाँ जरिवाना गर्नु गलत भएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ यो व्यवसायीको हितमा छैन बरु जोर बिजोर लागू गर्नु ठीक हुन्छ ।’ उहाँले चेकजाँच नै गर्ने हो भने पनि ४ बजेपछि गर्नु उपयुक्त हुने सल्लाह दिनुभयो । उहाँले व्यवसायीहरुले पनि आवश्यक सुरक्षाको उपाय अपनाउँदै ४ बजे बन्द भने पछि सोही निर्देशनलाई मानेर पसल बन्द गर्नुपर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नु भयो, ‘ व्यवसायी अनुशासित नभए यस वर्ष दसैँ राम्रोसँग मनाउन पाइँदैन ।’

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले पनि प्रशासनले सडकमा गरेको चेकजाँचले कन्फ्युजनमा पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘के, किन चेकजाँच भन्ने कन्फ्युजनलाई प्रशासनले हटाउनु पर्छ । यसरी नागरिकले दुःख पाउनु हुँदैन ।’ लाइन लगाएर चेकिङ गर्दा झनै कोरोना सर्ने खतरा बढेको उहाँले बताउनु भयो । अध्यक्ष पौडेलले भन्नुभयो, ‘उद्योगीहरुले असजिलो परेको भनेर केही गुनासो गर्नुभएको छैन । खुल्यो भनेर मानिस बजार गएका छन् । कस्तो कार्ड भएका जान पाउने हो वा होइन प्रशासनले स्पष्ट पार्नुपर्छ ।’

युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष दाताराम घिमिरेले पैदल हिड्दा नसर्ने तर सवारीमा सर्ने भन्ने हुँदैन त्यसैले यस्तो कदम प्रशासनको गैरजिम्मेवार कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पसल खोल्ने अनी ग्राहकलाई रोक्ने काम वैज्ञानिक भएन । ५०० को सामान किन्न जाने नागरिकलाई ५०० रुपैयाँ नै जरिवाना गर्नु ठीक भएन ।’ उहाँले यस्तो तरिकाले व्यापार हुन नसक्ने बताउनुभयो । व्यवसायी घिमिरेले उद्योग वाणिज्य संघ र उद्योग संघले प्रशासनमा गरेको सहमति यही त हो ? भनेर पनि प्रश्न गर्नुभयो ।

यसबाट सबैभन्दा धेरै मार व्यापारको लागि बाटोमा ओहोरदोहोर गर्नुपर्ने व्यवसायीलाई परेको छ । बाटोमा प्रहरीले गर्ने चेकजाँचले कार्यालयको काममा वा अत्यावश्यक सेवाको लागि हिड्ने व्यवसायीहरु पनि परेका छन् । सनराइज अटो सेन्टरका सञ्चालक जनककुमार ढकालले मंगलबार दिउँसो वीरेन्द्र क्याम्पस अगाडि सडकमा दुईतर्फी भएको सवारीसाधनको चेकिङले सामान लिन जान निकै गाहे परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ भरतपुरबाट ग्राहकको फोन आउँछ हिडेर जान सम्भव हुँदैन । मोटरसाइकलमा गयो, बाटोमा झण्डै आधि घण्टा रोकिनुपर्छ ।’ त्यसैगरी भाजुरत्नको शो रुमका बिक्री प्रतिनिधि ध्रुव बर्तौलाले पनि सडकको ठाउँठाउँमा हुने प्रहरीको सवारी चेकिङले ग्राहकलाई निकै गाहे भएको बताउनुभयो । नागरिकलाई स्पष्ट सन्देश वा सूचना नदिई सडकमा गरिएको सवारी चेकिङको नाममा नागरिकलाई दुःख दिनु गैरजिम्मेवार काम भएको अधिकांश व्यवसायीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>