Breaking News
चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण तीब्र फैलने स्वास्थ्य कार्यालयको चेतावनी

चितवन,भदौं २१-
जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण फैलिने चेतावनी स्वास्थ्य कार्यालयले दिएको छ । संक्रमण समुदायमा फैलिसकेको भन्दै कार्यालयले सचेत रहन आग्रह गरेको हो ।
कार्यालयका प्रमुख दिपकबाबु तिवारीले संक्रमण गुणात्मक रुपमा फैलिन सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “अव गुणात्मक रुपमा संक्रमण फैलदैं छ, पहिले लक्ष्यणसहितका कम थिए । अहिले जटिल बिरामी धेरै छन् ।” जिल्लामा कोरोना संक्रमितको मृत्युपनि विकासित मुलुकमा जस्तो भइरहेको उहाँको भनाई छ । चितवनमा एक हजार संक्रमित मध्ये १२ जनाको मृत्यु भएको बताउँदै उहाँले यो अत्यन्त जोखिमपूर्ण तथ्यांक भएको बताउनुभयो ।
भारतीय सीमावर्ती छिमेकी जिल्लाहरुबाट आएको बिरामी व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “छिमेकी जिल्लाबाट आएका बिरामीको व्यवस्थापन गर्न सकिएन भने जिल्लामा संक्रमण रोक्न सकिंदैन ।”
साउनको दोस्रो सातासम्म समुदायमा १०/१२ जना मात्रै संक्रमित थिएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “अहिले एउटै वडामा जाँच गर्ने हो भने सयौं जना भेटिन्छन् ।” कोरोना संक्रमण रोक्न सरकारी प्रयासले मात्रै सम्भव नभएको भन्दै उहाँले आफै सजगत अपनाउन अनुरोध गर्नुभयो । आफूहरु परीक्षणको दायरा र संस्थागत आइसोलेसन बढाउने काममा लागेको उहाँले जानकारी दिनुभयो । अस्पताल, पसल, बैंकहरुमा बढी जोखिम रहेको बताउँदै उहाँले त्यस्ता ठाउँहरुमा बढी सजगता अपनाउन पर्नेमा जोड दिनुभयो ।
























