Breaking News
चितवनका थारु समुदायले चाडपर्व मनाउन बनाए यस्तो कार्यविधि (कार्यविधिसहित)

चितवन, भदौं २०–
चितवनका थारु समुदायमा चाड पर्वको रौनक सुरु हुँदैछ । जितिया पर्व सुरु भएसंगै थारु समुदायमा चाडपर्वको लहर सुरु हुन्छ । तर यसपटक विगत जस्तो अवस्था छैन । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त रहेको बेला नेपालमा पनि त्यसको असर प¥यो । नेपालीहरुको महान् चाडपर्व यसै कारण यसपटक घरघरमै सिमित भइरहेको छ । कोरोनाको जोखिम अझै बढ्दै गइरहेकोले अब कसरी सुरक्षित भएर चाड पर्व मनाउने भनेर चितवनका थारु समुदायले कार्यविधि नै तयार पारेका छन् ।
यस वर्ष भिडभाड हुने गरेर सामूहिक रुपमा कुनै पनि पर्वहरु नमनाउन आग्रह गर्दै थारु कल्याणकारिणी सभा चितवनले कार्यविधि तयार पारेको हो । थारु समुदायको मुख्य जातीय संस्था रहेको थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनले शनिबार ‘जितिया’सहित चैते दसैंसम्म के कसरी मनाउने भन्ने कार्यविधि जारी गरेको हो ।
कार्यविधिमा भिडभाड र सामूहिक रुपमा पर्व नमनाइ घर परिवारमा समिति रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । ‘चाडपर्वको रित पुरा गरौं, घरपरिवारमा सीमित भई पर्व मनाऔं र कोरोना संक्रमणबाट बचौं’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि–२०७७’ जारी गरेको र पालना पनि गराउने चौधरीले जानकारी दिनुभयो ।
थारु समुदायले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । यो महिलाहरुले मनाउने पर्व हो । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । कार्यविधिमा सामूहिक रुपमा केही पनिे नगर्न भनिएको छ । त्यसपछि सोह्रश्राद्धको अन्तिम दिन दिवंगत पितृको सम्झनामा ‘एमोसा’ मनाउँछन् । यसमा पनि सामूहिक रुपमा गर्नु पर्ने कही विधिहरु छन् । यो पटक त्यो पनि नगर्न सभाले कार्यविधि बनाएको हो ।
दसैं अनि त्यसपछि तिहारका बेला हुने सोहराई पूजामा पनि घर परिवारमै सिमिति हुन भनिएको छ । छठ, बड्का एकादशी (ठुलो एकादशी) माघे संक्रान्तिको खिचरा, फागु र चैते दसैंसम्म सामूहिक भेटघाट र पर्वको अनुष्ठानहरु नगर्न कार्य विधिले जोड दिएको छ । ‘हामीले विज्ञ र अगुवाहरुलाई राखेर (भर्चुअल बैठक) छलफल गरेर निर्णय गरेका हौं । कार्य विधिमा समस्या भए ब्याख्या गर्ने र थपघट गर्ने अधिकार समितिलाई छ,’ चौधरीले भन्नुभयो ।
चैते दसैंका बेलामा चितवनको थारु बहुल क्षेत्रमा मेला लाग्ने गर्दछन् । आफ्नो मनोकांक्षा पूरा गर्ने उद्देश्यले भाकल गर्न चैत्र शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन चितवन राष्ट्रिय निकुञ्जको भित्र कसरमा बिक्रम बाबाको मेला लाग्छ । नवमीका दिन माडीमा गोदक मेला र भारतको डेवाढ भन्ने ठाउँमा पनि सहोदरा मेला लाग्ने गर्दछ । ती मेलामा चितवनका थारु सुमदाय सहभागी हुन्छन् । तर कोरोना कहरका कारण गत वर्ष पनि यी मेलाहरु भएनन् । यो वर्ष पनि नहुने थारु कल्याणकारिणी सभा चितवनका सभापति चौधरीले बताउनुभयो । थारु समुदाय चितवनको मैदानी क्षेत्रमा बसोबास गर्ने यहाँको मुख्य आदिवासी हुन् ।
हेर्नुहोस् कार्यविधि
























