Breaking News

२२ दिनपछि नारायणगढका फेन्सी पसल खुले, ग्राहक भने शून्य

Banner

चितवन, भदौं २०-

चितवनमा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञासहितको लकडाउन भएको २२ दिनपछि आज नारायणगढका फेन्सी पसलहरु खुलेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहान १० बजेबाट ४ बजेसम्म फेन्सी पसल, निर्माण सामग्री र किनारा पसल खोल्न सक्ने गरी निषेधाज्ञा केही खुकुलो बनाएपछि आज पसल खुलेका हुन् । तर, सामाजिक दूरी कायम गर्दै पसलमा पाँच जना भन्दा बढी राख्न नपाइने साथै ट्रायल रुमको पनि प्रयोग गर्न नपाइने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार तीन बुँदे निर्देशन दिएको छ । गत साउन ३० गतेबाट कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सबै व्यापार तथा व्यवसाय बन्द गराएको थियो । शनिबार नारायणगढमा फेन्सी पसल, टेलरिङ खुलेका थिए भने अटो, सुनचाँदी पसलहरु भने बन्द नै थिए ।

शनिबार बिहान केही अटो शो रुम व्यवसायीले खोल्न खोज्दा प्रहरीले बन्द गराएका थिए । फेन्सी व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष बालकृष्ण कँडेलले नारायणगढमा केही पसल खुले पनि कुनै पनि ग्राहक नआएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘ पसल खुल्न त खुल्यो तर सवारीसाधन नचल्दा ग्राहक आएनन् ।’ उहाँले कुलो खनेर पानी बन्द गरेको जस्तो भएको बताउनुभयो ।

मिलनरोडको कोमल प्लाजाभित्र ‘गल्र्स जङ्सन प्वाइन्ट’ फेन्सी पसल सञ्चालन गर्नु हुने भरतपुर महानगरपालिका–११ बसेनीको रसु गुरुङले पसल खोले पनि ग्राहक कोही नआएकोले बन्द गरेर घर फर्कन लागेको नारायणी अनलाइनलाई बताउनुभयो । बजार अघिल्ला दिनको जस्तै सुनसान नै रहेको उहाँले बताउनुभयो ।  सनराइज टेलरिङका प्रवन्धक कृष्ण धितालले आज दिउँसोसम्ममा बोनीसम्म नभएको बताउनुभयो । उहाँले कोरोनाको त्रास र सवारीसाधन चलेकोले पनि ग्राहक नआएको बताउनुभयो । तर, आज पहिलो दिन ग्राहक नआए पनि भोलिदेखि ग्राहक आउनेमा कतिपय व्यवसायी आशावादी छन् । कमलगरको कासिका बेबी वेयरका प्रोपाइटर प्रकाश भारतीले आज पसल खुले पनि ग्राहक नआएकोले भोलिदेखि केही बढ्छ कि भन्ने आशा व्यक्त गर्नुभयो । कोरोना संक्रमण बढ्दै गएर पहिलेको जस्तो अवस्था नआएसम्म नारायणगढ बजारमा पसल खुले पनि मानिसहरुको भीडभाड हुने सम्भावना कमै देखिन्छ ।

(फोटो : जनककुमार ढकाल)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>