Breaking News

चितवनमा खुकुलो निषेधाज्ञाः के खुल्ने, के नखुल्ने ?

Banner

चितवन, भदौ १९–

जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (शनिबार)देखि निषेधाज्ञा खुकुलो बनाउँदै थप गरेको छ । व्यवसायीहरुको व्यापक दवाबका कारण प्रशासनले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै थप गर्ने निर्णय गरेको हो । प्रशासनले थपेको निषेधाज्ञाको अवधि के–के खुल्ने र के–के नखुल्ने ? हेरौं प्रशासनको निर्णयः

निषेधाज्ञामा बन्द गरिएको क्षेत्रः

१. कृषि उत्पादन तथा औजार ढुवानीका लागि प्रयोग हुने सवारी साधन, लामो तथा छोटो दुरीका मालसामान ढुवानी गर्ने साधन, दमकल, एम्बुलेन्स, शव वाहन तथा अन्तिम संस्कारका लागि प्रयोग गरिने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, सरसफाई तथा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधन र संचालन अनुमति प्राप्त गरेका बाहेकका अन्य सवारी साधन संचालन गर्न पाइने छैन ।

२. किराना पसल, निर्माण सामग्री ढुवानी तथा सो सम्बन्धि व्यवसाय, बिजुलीका सामान र भाडाकुँडाका पसल, कपडा तथा फेन्सी पसल (विहान १० बजेदेखि दिउँसो ४ सम्म) बाहेक सम्पूर्ण पसलहरु बन्द रहने छन् ।

३. अनलाइन कक्षा बाहेक शैक्षिक संस्था, तालीम प्रशिक्षण, भाषा कक्षा, ट्युसन लगायतका गतिविधि पूर्ण रुपमा बन्द रहने छ ।

४. परम्परागत रुपमा गरिने नित्य पूजा र परिवारका सदस्य मात्र सहभागि हुने गरी संचालन हुने बाहेकका धार्मिक, साँस्कृतिक तथा सामाजिक (विवाह÷ब्रतबन्ध) लगायतका भेला जमघट हुने कार्य गर्न पाइने छैन ।

५. कुनै पनि मेला, महोत्सव, जात्रा संचालन, मानिसहरु भेला÷जमघट हुन, भिडभाड गर्न र सभा जुलुस गर्न पाइने छैन ।

६. कन्ट्याक्ट ट्रेसिङमा परेका र पीसीआर परीक्षणका लागि स्वाब दिएका मानिसहरु नतिजा नआएसम्मका लागि हिँडडुलमा प्रतिवन्ध लगाइएको छ ।

७. सिनेमा हल, स्वीमिङ पुल, जिम खाना, स्पा, फुटसल, व्यूटीपार्लर, सैलुन तथा समूहमा खेलिने सबै प्रकारका खेलहरु सबै बन्द ।

८. खुला ठाउँ, फुटपाथ तथा ठेला रिक्सामा गरिने व्यापार बन्द ।

निषेधाज्ञामा खुल्ला गरिएको क्षेत्रः

१.औषधि पसल, पानी (मात्र) ग्यास तथा इन्धन विक्री वितरण गर्ने पसल÷व्यवसाय जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्ने ।

२. दूध संकलन तथा बेचबिखन, तरकारी तथा फलफूल पसल, खाद्य पसल, पेट्रोल पम्प संचालन गर्ने ।

३. विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी तथा कपडा पसल संचालन गर्ने ।

४. जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी अनावश्यक भिडभाड नहुने गरी कार्यालयहरुबाट नियमित सेवाहरु संचालन गर्ने ।

५. आलोपालो प्रणाली बमोजिम बढीमा ५० प्रतिशत कर्मचारीहरु मात्र उपस्थिति हुनेगरि बैंक तथा वित्तिय संस्थाहरु संचालन गर्ने ।

६. उद्योग परिसर भित्रै क्वारेन्टिन निर्माण गरी उद्योग संचालन गर्ने, सो को बारेमा जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्ने ।

७. पशुपंक्षीको दाना, पशुपंक्षीजन्य उत्पादन, कृषि औजार, विद्युत्, खानेपानी, दुरसंचार लगायत जनउपयोगी सेवा जडान तथा मर्मतका लागि इक्वेपमेन्टसहितको सवारी साधन संचालन गर्न पाइने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>