चितवन विशेष
चितवनमा हुने राष्ट्रिय कविता प्रतियोगिताको लागि २१४ कवि सहभागी

चितवन, भदौं १८-
कविडाँडा साहित्य समाज चितवनले यस वर्ष गर्न लागेको राष्ट्रिय कविता प्रतियोगिताको लागि देशभरबाट २१४ जना कवि सहभागी भएका छन् ।
इमेलबाट कविता पठाएर उनीहरुले प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
कविडाँडा साहित्य समाजले भदौं १५ गतेसम्मको मीति राखेर देशभरका कविहरुबाट कविता मागेको थियो । कविता प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार ६० रुपैयाँ, दोस्रो हुनेलाई १० हजार ६० रुपैयाँ, तेस्रो हुनेलाई सातहजार ५६० रुपैयाँ पुरस्कार राखिएको समाजले जनाएको छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट १० कवि छनोट गरी बाँकी सात जना कविलाई जनही दुई हजार रुपैयाँ र प्रमाणपत्रको व्यवस्था गरिने समाजले जानकारी दिएको छ ।
प्रतियोगितामा प्राप्त कवितामध्ये निर्णायकहरुले उत्कृष्ट १० कविता छनोट गरेपछि आगामी मंसिरको पहिलो हप्ता समाजको वार्षिकोत्सवको अवसर पारेर प्रदान गरिने कविडाँडा साहित्य समाजका संरक्षक एलबी क्षेत्रीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमण घटेर कार्यक्रम गर्न सक्ने भएमा सौराहामा वार्षिकोत्सव गरेर कविहरुलाई पुरस्कृत गर्ने छौं । सम्भव नभए अन्य वैकल्पिक उपायहरु अपनाएर भए पनि पुरस्कृत गर्ने छौं ।’
हरेक वर्ष कविडाँडा साहित्य समाजले आफ्नो वार्षिककोत्सवमा देवखीना स्मृत्ति पुरस्कार वितरण, साहित्यबारे विचार विमर्श, विभिन्न विद्यामा साहित्यकारहरुलाई पुरस्कृत गर्दै आइरहेको छ । समाजका संरक्षक क्षेत्रीले भन्नुभयो, ‘ अर्काे वर्षबाट पुरस्कारको रकम पनि बढाउने सोच बनाएका छौं । म आफू साहित्य प्रेमी पनि भएकोले सात लाख रुपैयाँको अक्षयकोष बनाएर बाँकी रकम थप गरेर यसप्रकारका विविध कार्यक्रम गर्ने गरेका छौं । समाजले इमेलमार्फत् प्राप्त २१४ वटा कविता मध्ये कात्तिकको अन्तिम हप्तासम्म उत्कृष्ट १० छनोट गर्नेछ । चितवनमा साहित्य क्षेत्रको विकास गर्ने उद्देश्यले कविडाँडा साहित्य समाजको स्थापना २०६० सालमा भएको हो ।
























