चितवन विशेष
विद्युतीय माध्यममार्फत महशुल तिर्न आग्रह

चितवन,भदौं १८-
चितवनका सरकारी कार्यालयले विद्युतीय माध्यम (अनलाइन) मार्फत भुक्तानी गर्न आग्रह गरेका छन् । कोरोना (कोभिड १९) को जोखिम कम गर्न र नागरिकको सहजताका लागि कार्यालयले अनलाइन भुक्तानी गर्न आग्रह गरेका हुन् । विशेषगरी विद्युत्, खानेपानी र नेपाल टेलिकमले विद्युतीय माध्यम मार्फत महशुल तिर्न आग्रह गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर सुरेशकुमार महतोले कार्यालयले सूचना नै जारी गरेर अनलाइन भुक्तानी गर्न आग्रह गरेको जानकारी दिनुभयो । कोरोनाको जोखिम हुँदाहुँदै पनि आइतबारदेखि कार्यालयले केही समय सेवा दिन थालेको उहाँले बताउनुभयो । प्रमुख महतोले आइतबार मात्रै पाँच सय जनाले विद्युत महशुल बुझाएको बताउनुभयो । “कार्यालयमा आएर विद्युतको महशुल तिर्दा जोखिम झन् बढ्छ,” उहाँले भन्नुभयो, “घरमै बसौं अनलाइन मार्फत महशुल तिरौं ।” उहाँले कार्यालयले सकेसम्म स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेको बताउनुभयो । केन्द्र अन्तर्गतको एक शाखाका कर्मचारीलाई कोरोना पुष्टि भएपछि अन्य सबै कर्मचारी होम क्वारेन्टिनमा बसको उहाँले जानकारी दिनुभयो ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालले कार्यालयले विद्युतीय माध्यामबाट महशुल तिर्न आग्रह गरिएको बताउनुभयो । “दुई सातादेखि कार्यालयको काउण्टर बन्द छन्,” उहाँले भन्नुभयो “निषेधाज्ञा खुकुलो हुँदै गएपछि पुनः सेवा प्रदान गछौं ।” इसेवा, आइएमी पे र वाटर मार्क मोबाइल एप्लीकेशन मार्फत खानेपानीको महशुल तिर्न सकिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
पानी खपत युनिट गणना भएको तीन महिनासम्म बिना जरिवाना भुक्तानी गर्न सकिने दाहालले बताउनुभयो । “पहिलो र दोस्रो महिनामा तिर्दा ३ प्रतिशत छुट पाइन्छ,” उहाँले भन्नुभयो “तेस्रो महिना छुट पनि हुँदैन जरिवाना पनि हुँदैन् ।” उहाँले सूचना पनि जारी गरेर सबै ग्राहकहरुलाई अनुरोध गरेको बताउनुभयो । खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत ३० हजार पाँचसय ग्रहक छन् । सामान्य अवस्थामा पनि दैनिक ३ सय देखि ५ सय ग्राहक महशुल तिर्न आउने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिंखडाले आन्तरिक कामका लागि मात्र सरकारी कार्यालयहरु खुला गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा कार्यलय खोल्न आग्रह गरेका छौं, अत्यावश्यक बाहेकका सेवा कार्यालयले तत्कालै प्रदान गर्ने छैनन् ।”
























