Breaking News

नारायणी किनारमा दैनिक नि:शुल्क सामूहिक भोजन, बालबालिकादेखि वृद्धसम्म छाक टार्दै

Banner

 

चितवन, भदौं १६-

बुधबार मध्यान्ह नारायणी नदी किनारको दृश्य वर्णन गर्न लायक थियो । शीतल मौसममा त्यही नजिकैको बुद्धको मूर्ती सधैझै उस्तै सालिन, शान्त र ध्यानमग्न देखिन्थ्यो । त्यही छेउको अर्को दृश्य एक हुल मान्छे अशान्त, अधैर्य जस्तो देखिन्थे । शरीरमा मैलो लुगा न मुखमा मास्क न त भौतिक दूरी नै कायम भएको थियो ।

अर्को छेउमा यी सबै भन्दा पृथक अर्को रोमाञ्चक दृश्य देखिन्थ्यो । ठूलो भाडामा खाना पाक्दै छ । मासु, भात र तरकारीको बास्ना आइरहेछ । एक हूल ती मानिसहरु त्यसैको प्रतिक्षामा नदी किनारमा सधैझै आज पनि जम्मा भएका छन् ।

एकैछिनमा खाना पाकेको इशारा हुन्छ । सबैजना दूरी कायम गर्दै चौरमा लामबद्ध बन्छन् । खाना अघि आएपछि अघिको अशान्त र अध्यारो अनुहार एक्कासी उज्यालो बन्यो । सबैले थपीथपी खाना खाए । सबै उमेरसमूहका बालबालिकादेखि वृद्धसम्म यसरी खाना खान हरेक दिन आउँछन् । भोकमा खानाको प्यास मेटाउँछन् ।

चितवनमा साउन ३१ यता निषेधाज्ञा छ । निषेधाज्ञाको यो समयमा सडकमा बस्ने सहयोगपेक्षीले न काम न माम नै जुटाउन सके ।
यस्तो अव्यस्थामा विगत १३ दिनदेखि बेवारिसे व्यवस्थापन चितवन शाखाले यसरी खाना खुवाइरहेको छ । ‘मान्छे रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि’ निशुल्क खाना खुवाउन थालेको’ संस्थाकी संयोजक सीता कुँवर बताउनु हुन्छ । दैनिक २०० देखि २५० जना नदी किनारमा खाना खान आउने उहाँले बताउनुभयो ।

बिहानै ६ बजेदेखिनै खाना पकाउन आइपुग्छौं। ११ देखि १२ बजेको बीचमा खाना खुवाउने गरेको सोही संस्थाकै उपसंयोजक प्रकाश थापाले जानकारी दिनुभयो । खाना खुवाउनको लागि भरतपुरका लियो क्लबदेखि व्यक्तिगत सहयोग तथा अन्य संघसंस्थाले पनि सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । कसैको जन्मदिन, वैवाहिक वर्षगाठ अवसरमा पनि खाना खुवाउनका लागि व्यक्तिहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।

कोरोना महामारीको बेला चुनौती धेरै छ, त्यही पनि रोगले भन्दा भोकले कोही नमरुन भनेर आफूहरु लागिपरेको संयोजक कुँवर बताउनुहुन्छ । भरतपुर महानगरपालिका सहयोगीपेक्षी सडकमानव मुक्त घोषणा भइसके पनि झण्डै २८५ जना बेवारिसे सडक मानव भएको कुँवरको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>