देश/प्रदेश
अभिनेत्री श्वेता खड्का नयाँ चलचित्रमा अनुबन्ध

चितवन, भदौं १६-
चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गर्नु भएको अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने हुनु भएको छ । उहाँ अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आउनु भएको उहाँ यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध हुनु भएको हो ।
‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसक्नु भएको यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लाग्नु भएको हो । चलचित्रमा उहाँ आमाको भूमिकामा देखिनु हुनेछ । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ । कोरोना महामारी र हालको लक डाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायांकन सुरु हुने जनाइएको छ ।

निर्देशक यम थापाको लेखनसमेत रहेको चलचित्रमा छोरीको भूमिका बाल कलाकार सेड्रिना शर्मालाई खेलाउने योजना छ । शर्मा अहिले जन्मथलो झापामा भएका कारण कुरा अगाडि बढ्न पाएको छैन । डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ देखि लभर गर्लको भूमिकामा देखिँदै आउनु भएको श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् । उहाँ यो चलचित्रलाई लिएर उत्साहित हुनुहुन्छ । आमाको भूमिका भए पनि चलचित्रमा केन्द्रीय भूमिका श्वेताको रहने निर्देशक थापाले बताउनु भयो ।
हाल स्क्रिप्टको कार्य सकायर लोकेसन फाइनल गर्ने कार्यमा लाग्नु भएको थापाले चलचित्रमा समाबेश अन्य कलाकार तथा प्राविधिकहरुको जानकारी केही समयमा गराउने बताउनु भयो। कोरोना महामारीका कारण ठप्प रहेको चलचित्र उद्योगलाई चलायमान बनाउन र चलचित्रकर्मी तथा प्राविधिकहरुलाई आशाबादी बनाउन जरुरी रहेकाले आफू यो अवस्थामा पनि चलचित्र निर्माणमा जुटेको थापाले बताउनु भयो ।
























