इच्छकामना

चितवनका चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने

Banner

चितवन,भदौं १७-

विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन् ।

नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङले कोरोना भाइरसबाट बच्नका लागि यस वर्ष केन्द्रदेखि जिल्ला, गाउँपालिका र वडास्तरमा कुनै कार्यक्रम आयोजना नगरिने बताउनुभयो । उहाँले विधि पुर्याएर घरमै छोनाम न्वागी पर्व मनाउन सम्पूर्ण चेपाङ समुदायलाई आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसको त्रास छ, त्यसैले केन्द्रदेखि वडा तहसम्म कुनै कार्यक्रम आयोजना गरिने छैन, परम्पराअनुसार विधि पुर्याएर घरमै बसी छोनाम न्वागी मनाउन आग्रह गरिएको छ ।”

नेपाल चेपाङ सङ्घ वाग्मती प्रदेशका सचिवसमेत रहेका चितवनका लक्ष्मण चेपाङले पनि प्रदेश र जिल्लामा कुनै कार्यक्रम आयोजना नगरिएको बताउनुभयो । उहाँले केन्द्रको निर्णयानुसार घरघमै रहेर न्वागी मनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा छोनाम न्वागी पर्व मनाउने गरेको छ । उनीहरुले नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफुलहरु चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । सो दिन उनीहरुले कुखुराको बलिसमेत दिने गर्छन् ।

महासचिव आइतसिङका अनुसार गाउँघरमा छोनाम न्वागीका दिन चेपाङ झाँक्री पान्देहरुले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका साथै अन्य भने छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । रातभर दोहोरी गाउने केटाकेटीहरु चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलनसमेत रहँदै आएको उहाँले बताउनुभयो ।

चेपाङ बहुल क्षेत्रमा सार्वजनिक विदाको माग

यसैबीच चेपाङ बहुल क्षेत्रमा छोनाम न्वागी पर्वको दिनमा सार्वजनिक बिदा दिन चेपाङ समुदायले माग गर्दै आएको छ । महासचिव आइतसिङले चेपाङ समुदायको बाक्लो बसोबास भएका स्थानीय तहहरुमा सार्वजनिक विदा दिनका लागि माग गर्दै आएको बताउनुभयो । गत वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिकाले मात्र सार्वजनिक बिदा दिएको उहाँले बताउनुभयो ।

चितवनमा सबैभन्दा धेरै चेपाङहरु बसोबास गर्छन् तर हालसम्म कुनै पनि स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छैनन् । चितवनमा मात्रै २८ हजार ९८९ चेपाङ बसोवास गर्छन् । चितवनको इच्छाकामना गाउँपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकामा चेपाङ समुदायको बढी बसोबास छ ।

विसं २०६८ को जनगणना अनुसार इच्छाकामना गाउँपालिकाको कुुल २५ हजार १२ जनसङ्ख्यामा नौ हजार ५०० चेपाङ समुदायका छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । सूचीकृत आदिवासीमध्ये चेपाङ अति सीमान्तकृत समुदायमा पर्छ । विसं २०६८ को जनगणना अनुसार नेपालको २६ वटा जिल्लामा बसोबास गर्दै आएका चेपाङको सङ्ख्या ६८ हजार ३९९ रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>