Breaking News
चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं १४–
चितवनमा आज (मंगलबार) थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष २१ देखि ५८ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला २२ देखि ४२ वर्ष उमेर समूहका छन् । उनीहरुको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
यस्तै रत्ननगर नगरपालिका–१० की २७ वर्षीयामा संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबा स्वाब संकलन गरिएको हो । यस्तै क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरि चितवन बाहिरका संक्रमण पुष्टि हुनेमा नवलपरासीका २ पुरुष र एक महिला गरी तीन जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरि धनुषा, रुपन्देही, सिरहा र बाराका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैले वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका थिए ।
यससंगै चितवनमा कुल संक्रमितको संख्या ७८३ पुगेको छ । यस्तै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको भरतपुर अस्पतालले जनाएको छ ।
























