चितवन विशेष
सेन्ट्रल हस्पिटलका पाँच स्वास्थ्यकर्मीले जिते कोरोना

चितवन, भदौं १६–
भरतपुर सेन्ट्रल अस्पतालका पाँचै जना संक्रमितले १४ दिनपछि कोरोना जित्न सफल भएका छन् । गत साउन ३२ गते तीन नर्ससहित संक्रमित पाँच जनाले नै कोरोनालाई जित्न सफल भएका हुन् ।
कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई अस्पतालमै छुट्टाछुट्टै क्याबिनमा राखेर उपचार गरिएको थियो । १४ दिनपछि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको उनीहरुको उपचारमा संलग्न चिकित्सक कन्सलट्यान्ट फिजिसियन डा.शशांक कुमार सिंहले जानकारी दिए । उनले तीन जनामा साधारण लक्षण र दुई जनामा कुनै प्रकारको पनि लक्षण नदेखिएको जानकारी दिए ।
भदौं १४ गते गरिएको परीक्षणका नतिजामा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरु एक साता होम क्वारेन्टिनमा बसेर आराम गर्ने र त्यसलगत्तै निरन्तर कार्यक्षेत्रमा फर्किने गरि डिस्चार्ज गरिएको चिकित्सक सिंहले जानकारी दिए । अस्पतालले सम्मान स्वरुप उनीहरुलाई घरमा बस्दा आवश्यक हुने सामग्रीहरु मास्क, स्यानिटाइजर र दैनिक आवश्यक वस्तुहरु उपलब्ध गराएको छ ।
अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा. अनिल विक्रम कार्कीले अहोरात्र बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीहरुलाई संक्रमण हुनसक्ने सम्भावना उच्च हुनु स्वाभाविक नै भए पनि यस्तो अवस्थामा सबैले उनीहरुलाई थप हौसला र सहयोग गर्नुपर्ने बताए । उनीहरुको उपचारमा भएको सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने कार्यकारी निर्देशक शोभाकर घिमिरेले जानकारी गराए ।
























