चितवन विशेष
भरतपुर अस्पताललाई १५० थान पिपिई सहयोग

चितवन,भदौं १५-
चितवन एड ट्रस्ट (क्याट) युकेले भरतपुर अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ । उपचारमा खटिंदै आएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको लागि आइतबार १५० थान पिपिई सहयोग गरेको हो । राष्ट्रिय आविस्कार केन्द्रमा बनेको पिपिई उपलब्ध गराइएको क्याटले जनाएको छ ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य तथा अस्पताल विकास समितिका पूर्व अध्यक्ष विजय सुवेदीले विपदको वेलामा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सहयोगलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले एक महिनामा कम्तिमा ३ हजार पिपिई लाग्ने भन्दै सरकारले पठाएको पिपिई प्रयाप्त नभएको बताउनुभयो । उहाँले कोभिड महामारिको समयमा सहयोग गरेको भन्दै अस्पतालका तर्फबाट क्याटलाई धन्यबाद दिनुभयो ।
आइतबार १५० थान उपलब्ध गराएको क्याटले आगामी दिनमा ५०० थान पु¥याउने लक्ष्य लिइएको पूर्वअध्यक्ष हिमाल गुरुङले जानकारी दिनुभयो । उहाँले अस्पताललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारी,डा.शान्ता भण्डारी,डा.प्रकाश खतिवडा,डा.प्रमोद पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम गोपाल पौडेलले संचालन गर्नुभएको थियो ।
























