Breaking News
चितवनका उधोगमा कोरोना सङ्क्रमणको उच्च जोखिम

चितवन, भदौ १५-
पूर्वी चितवनको एक उद्योगमा कार्यरत ५२ मजदूरलाई एकैपटक कोरोना सङ्क्रमण देखिएपछि समूहमा काम गर्ने उच्च जोखिममा रहेको देखिएको छ । रत्ननगर नगरपालिका– ४ मा रहेको त्रिशक्ति खाद्य उद्योगमा रहेका ७६ मजदूरमध्ये ५२ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
उद्योगमा कार्यरत अधिकांश मजदूर तराईका हुन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले उद्योग सञ्चालकले सावधानी नअपनाएकै कारण समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग सञ्चालकले खुरुखुरु मानिस ल्याएछ समस्या देखियो ।” जनप्रतिनिधिले ध्यान नपु¥याएको जनाउँदै स्थानीय रुष्ट भएका छन् । यसअघि भरतपुर महानगरपालिका– ४ मा रहेको जस्मीन पेन्ट्समा पनि छ जनामा सङ्क्रमण देखिएको थियो । वडाध्यक्ष हरि आचार्यले त्यहाँका मजदूर अहिले पनि आइसोलेशनमा रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो, “उद्योगले सावधानी अपनाउन नसक्दा सङ्क्रमण फैलिने डर भयो ।”
लकडाउनकै समय र यसपछि यहाँका उद्योगले स्थानीय तह र प्रशासनको आँखा छलेर मजद्ूर ल्याएको पाइएको छ । उद्योगभित्र राखेर काम गराएकामा कम समस्या भए पनि बाहिर बसेकामा भने समस्या देखिन थालेको छ ।
उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलका अनुसार जिल्लामा १०० जनाभन्दा बढी मजदूर भएका ५० वटा, ५० जनाभन्दा बढी भएका २०० र २० जनाभन्दा बढी मजदूर भएका ५०० उद्योग छन् । सानासहित उद्योगको सङ्ख्या एक हजार ५०० भन्दाबढी छ । ठूला र मझौला अधिकांश उद्योगमा मधेश र भारतका मजदूर छन् । पौडेल मजदूरलाई भित्र राखेर सामाजिक दूरी कायम गरी काम गर्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मापदण्ड पूरा नगरी उद्योग सञ्चालन गर्नु हुँदैन ।”
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उद्योग, कलकारखानाका सञ्चालकलाई निजी खर्चमा पिसिआर परीक्षण गर्न निर्देशन गरेको जानकारी दिनुभयो । तर यहाँका उद्योगीले परीक्षण गरेको पाइँदैन । कृषि, उद्योग, कलकारखानामा मजदूर ल्याएपछि परीक्षण नगराउँदा समस्या भएको तिवारीको भनाइ छ । उद्योग, कलकारखाना जोखिममा रहेको भन्दै उहाँले सञ्चालकले यथाशीघ्र सरकारले भनेअनुसार मापदण्ड पूरा गरी परीक्षण गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
उद्योग कालकारखानाका मजदूरमा सङ्क्रमण देखिएसँगै स्थानीय जोखिम भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले मजदूरसँगै व्यापार, व्यवसाय गर्नेमा पनि सङ्क्रमण देखिन थालेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई उद्योग, कलकारखानामा बाहिरबाट मजदूर ल्याउँदा अनिवार्य पूर्व अनुमति लिनुपर्ने भनिएको भए पनि नलिएकै कारण समस्या भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “हामीले उद्योग चलाउन सहयोग गर्छौं भन्यौ पुलपुलिए जस्तो देखियो ।” प्रशासनले पटकपटक सूचना जारी गरेर बाहिरबाट मजदूर ल्याउन पूर्व अनुमति लिने भनेकामा तीन उद्योगले मात्र अनुमति लिएको उहाँको भनाइ छ । उद्योगमा कडाइका साथ अनुगमन गरिने र कमीकमजोरी देखिएमा सङ्क्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गरिने उहाँले जानकारी दिनुभयो । रासस

























