Breaking News
आज एकैदिन चितवनका ७३ जनामा कोरोना संक्रमण, रत्ननगरका ३७ संक्रमित खाद्य उद्योगका

चितवन, भदौं १३–
चितवनमा आज (शनिबार) एकैदिन चितवनका ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र काभ्रेको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा १२ जना गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा शनिबार अपरान्ह ६१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
चितवनका संक्रमित मध्ये सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ३८ जना रहेका छन् । ती मध्ये रत्ननगर–४ का एकै वडाका ३७ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा रत्ननगर–४ का ३५ पुरुष र २ जना महिलामा रहेका छन् । संक्रमित पुरुषहरु १७ देखि ५९ वर्ष उमेर समूहका छन् । यस्तै वडा नं.१० का २९ वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
केहीदिन अघि रत्ननगर–४ मा रहेको शिवशक्ति खाद्य उद्योगमा कार्यररत १० जनामा संक्रमण पुष्टि भएको थियो । सोही उद्योगबाट थप ८० जनाको परीक्षण गर्दा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ती मध्ये ७ जनाको पुनः परीक्षणमा पनि नतिजा पोजिटिभ आएको उहाँले बताउनुभयो । ती सबैलाई सोही उद्योगमा आइसोलेसन बनाएर राखिने उहाँले जानकारी दिनुभयो । एकै ठाउँका धेरै संक्रमित भएकाले सोही ठाउँमा राख्न लागिएको हो ।
यसैगरि भरतपुर महानगरपालिकाका २२ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै भरतपुर–४ का मात्रै १५ जना रहेका छन् । यस्तै भरतपुर–१० का दुई जना, भरतपुर–२, ६, १४, १९ र १८ का एक÷एक जना रहेका छन् । यसैगरि राप्ती नगरपालिका–८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै चितवन बाहिरका पूर्वी नवलपरासी गैंडाकोट–१० का एक जना, तनहुँ भानुका १, रुपन्देही र पाल्पाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि शनिबार दिउँसो खैरहनी नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको छ । धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी–१२ का तीन जना पुरुष, खैरहनी–३ का दुई पुरुष र एक महिलागरि तीन जना, वडा नंं. ४ का २ जना पुरुष, वडा नं.९ का एक महिला र एक पुरुष, वडा नं.१० का एक पुरुष र वडा नं.१३ का एक महिला रहेका छन् ।
यस्तै भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना भरतपुरका र एक जना रत्ननगरका छन् ।
यससंगै चितवनमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या छ सय नजिक पुगेको छ ।
शनिबार साँझसम्म कुल संक्रमितको संख्या ५ सय ९७ पुगेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भएका छन् भने इच्छाकामनामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकामा ३४१, खैरहनी नगरपालिकामा ४१, माडी नगरपालिकामा ५०, रत्ननगरमा नगरपालिकामा ८१, राप्ती नगरपालिकामा ७६, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
























