मकवानपुर
मदन भण्डारी फाउण्डेसन मकवानपुरले ‘फुड बैँक’ सञ्चालन गर्ने

हेटौँडा, भदौं १३
मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौंडामा ‘फुड बैँक’ अभियान सञ्चालन गर्ने भएको छ ।
कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजीवी तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेसनले फुड बैँक अभियान सञ्चालन गर्न लागेको हो ।
फाउण्डेसनले आगामी सोमबारदेखि हेटौंडाको अटोल्याण्ड चोकमा फुड संकलन केन्द्र रहने गरी फुडबैँक सञ्चालन गर्न लागिएको फाउण्डेसनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका न्यून आय भएका परिवारलाई लक्षित गरेर फुड बैँक अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । फाउण्डेसनले सोमबारबाट ‘हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं’ भन्ने अभियान सुरु गर्न लागेको उहाँले बताउनुभयो । फुड बैँकमा हुनेले खाद्यान्न सहयोग गर्नुहुनेछ भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जानुहुने छ । काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर फाउण्डेसनले सामाजिक उत्तरदायित्व स्वरुप यस्तो अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । यसका साथै अभियानले आवश्यकताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टाइन, वृद्धाश्रमहरुमा समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।
शनिबार बिहान बसेको फाउण्डेसनको बैठकले पहिलो चरणमा हेटौंडाबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयो । उक्त अभियान अन्तरगत कोरोनाका कारण छाक टार्न समस्या भएका नागरिकलाई परिवार संख्याको आधारमा सहयोग उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । त्यस्ता परिवारले एक पटकमा एक छाक टर्ने गरी दाल, चामल, नुन, तेललगायत खाद्यान्न उपलब्ध गराइने प्रमुख खुलालले बताउनुभयो । फुड बैँक सञ्चालनका लागि आजको बैठकले ५ सदस्य फुड बैँक व्यवस्थापन उपसमिति निर्माण गरेको छ । फाउण्डेसनका सदस्य उत्तम न्यौपानेको संयोजकत्वमा बोलबहादुर कार्की, रमिला सापकोटा, शिवहरी दाहाल, भवानी शर्मा सदस्य रहनुभएको ५ सदस्य समिति गठन गरिएको छ । उक्त समितिले कार्यविधि समेत तयार गरेर आगामी सोमबारबाट काम सुरु गर्ने उहाँले बताउनुभयो । अभियानमा नगद तथा जिन्सी दुबै सहयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । प्रमुख खुलालले अभियानमा आफूले सकेको सहयोग गरिदिनु हुन समेत सबैलाई आव्हान गर्नुभएको छ ।
























