Breaking News
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, भदौं १२–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत गोरखा आबुखैरहनी–१३ निवासी ३८ वर्षीय पुरुषको आज (शुक्रबार) दिउँसो २ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए । ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भदौं ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए ।
भदौं १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई कोभिड आइसीयूमा स्थानान्तरण गरिएको थियो । यही क्रममा उनमा निमोनिया देखिएपछि अवस्था गम्भिर बनेको थियो । उनलाई आज मात्रै भेन्टिलेटरको सहायतामा उपचार गर्दा गर्दै दिउँसो मृत्यु भएको डा.पौडेलले जानकारी दिए ।
योसंगै चितवनमा आज एकैदिन तीन जना संक्रमितको मृत्यु भएको छ । यसअघि आज विहान चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा–१९ की ७१ वर्षीया महिला र श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर–२ का ५१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
























