Breaking News

चितवनका चेपाङ बालबालिकालाई टोल शिक्षा

Banner

कृष्ण आचार्य

भरतपुर, भदौ १०-

सूचना प्रविधिको पहुँच बाहिर रहेका चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । शहरी क्षेत्रमा भर्चुअल, टेलिभिजन र रेडियोमार्फत् शिक्षा दिइएको भए पनि चेपाङ बालबालिकालाई सम्भव नभएपछि टोल शिक्षा दिइएको हो ।

चितवन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, यातायातलगायतको पहुँच भएको जिल्लामा हेरिन्छ । यही जिल्लाको पाखापखेरामा बसोबास गर्ने चेपाङहरु सबै किसिमबाट पछाडि छन् । उनीहरु इन्टरनेट त धेरै परको कुरा, रेडियो र टेलिभिजनको समेत पहुँचमा छैनन् । चेपाङ र जनजाति विद्यार्थी बाहुल्य रहेको जिल्लाको इच्छाकामना गाउँपालिकाका अधिकांश विद्यार्थी सूचना प्रविधिको पहुँचभन्दा टाढा छन् ।

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल भर्चुअल सिकाइ सम्भव नभएपछि गाउँपालिकाले टोल शिक्षा कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । “पालिकामा १३ जना शिक्षकको एउटा समिति निर्माण गरेका थियाँै”, उहाँले भन्नुभयो “अधिकांश विद्यार्थी प्रविधिको पहुँचमा छैनन् भन्ने सुझाव प्राप्त भयो ।” समितिको सुझावकै आधारमा टोल शिक्षा कार्यक्रम लागू गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाभित्र रहेका ७०० विद्यार्थी रेडियोको पहुँचमा समेत नभएको बताउनुभयो । गाउँपालिकाका धेरै क्षेत्रमा पातलो बस्ती छ । त्यहाँ पाँच÷सात जना विद्यार्थी जम्मा गरेर एकजना शिक्षकले पढाउने गरेका छन् । गाउँपालिकामा निषेधाज्ञा लागू भएपछि यो पनि रोकिएको छ । “शिक्षकहरु विद्यालय जानुहुन्छ, आन्तरिक काम भइरहेको छ तर सिकाइलाई निरन्तरता दिन सकेका छैनौंँ”, अधिकृत अर्यालले भन्नुभयो । इच्छाकामना गाउँपालिकाको वडा नं.१, २, ३ र ४ का धेरै विद्यार्थी सूचना प्रविधिको पहुँच बाहिर छन् ।

सबै चपाङ बालबालिका अध्ययन गर्ने इच्छाकामना गाउँपालिका­३ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय धुसाका प्राचार्य सोमलाल श्रेष्ठले एक/दुई विद्यार्थीको घरमा मात्र टिभी र रेडियो भएको बताउनुभो । “विद्यालयमा ४० चेपाङ बालबालिका अध्ययन गर्छन्” उहाँले भन्नुभयो “अभिभावक र विद्यार्थीसँग सहजरुपमा सम्पर्क गर्ने माध्यम छैन् ।”

उहाँले रेडियो, टिभीकोसम्म पहुँच भएको भएपनि बालबालिकालाई घरमै पढाउन सहज हुने बताउनुभयो । “सरकारले रेडियो, टिभीमार्फत पनि पढाउन सकिने बताएको छ तर यहाँको अवस्था फरक छ”, उहाँले भन्नुभयो । विद्यार्थीको घरघरमा गएर सिकाइ सहजीकरण गरिरहेको जानकारी उहाँले दिनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले गाउँपालिकाले असार २१ गतेदेखि एक महिनासम्म टोल शिक्षा सञ्चालन गरेको बताउनुभयो । “गाउँ शिक्षा समितिले गरेको निर्णयअनुसार टोल शिक्षा सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “केही नहुनुभन्दा थोरै भएपनि यसले सिकाइमा सहयोग पु¥याएको हुनुपर्छ ।”

सरकारले जारी गरेको पाँच वैकल्पिक सिकाइमध्ये गाउँपालिकामा टोल शिक्षा नै प्रभावकारी हुने देखेर लागू गरिएको उहाँको भनाइ छ । “भौगोलिक विकटता र बर्खाको समय भएका कारण समस्या भयो तर पनि सिकाइलाई निरन्तरता दियौँ”, उहाँले भन्नुभयो । सामान्य समयमा समेत नियमित नहुने चेपाङ बालबालिकालाई यो समयमा सिकाइमा सहभागी गराउन निकै कठिन भएको खड्काले बताउनुभयो ।

गाउँपालिकामा ५ हजार ३४० विद्यार्थी छन् । स्थायी, निजी र राहत कोटाका गरी ३६७ शिक्षक गाउँपालिकामा कार्यरत छन् । इच्छाकामना गाउँपालिका­३ का वडाध्यक्ष गोवद्र्धन अधिकारीले वडामा घुम्ती कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गसँग जोडिएका बस्तीबाहेक अन्य क्षेत्रमा टिभी, रेडियो त प्रयोग धेरै छैन, इन्टरनेट पहुँचमा छैन ।” “टोलटोलमा शिक्षक पठाएका छौँ, खुल्ला ठाउँमा पाँच÷१० जना विद्यार्थी जम्मा गरेर अध्यापन गराउने गरेका छौँ” उहाँले जानकारी दिनुभयो । वडामा रहेका आठ विद्यालयमध्ये एक÷एक मावि, निमावि र अरु सबै प्रावि छन् । सबै विद्यालयमा चेपाङ र जनजातिको बाहुल्यता छ ।

बाह्रै महिना खानसमेत नपुग्ने चेपाङ बस्तीमा शुरु गरिएको यो टोल शिक्षाले असहज परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन केही भएपनि सहयोग पुगेको शिक्षक, अभिभावक र स्वयं विद्यार्थीले अनुभव गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>