चितवन विशेष

कोरोनाले रगतको अभाव भएपछि चितवनको टोलटोलमा रक्तदान

Banner

चितवन, भदौं ८-

चितवनमा कोरोनाका कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प सञ्चालन गरेर सोमबारबाट रक्तदान अभियान सुरु गरेको छ ।

मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत संकलन गरेको छ । मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका वडा नम्बर ४ को लंकू क्षेत्रको अद्धैत चोक र धर्मचोकमा १५÷१५ युनिट रगत संकलन भएको छ । अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत संकलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी रहेको छ । नेपाल सरकारको संक्रमण ऐन भित्र रही सम्पूर्ण कार्य गरिने उहाँले जानकारी दिनुभयो । मञ्चले चितवन र छिमेकी जिल्लाका आ–आफ्नो टोलमा संयोजक गरि मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । सापकोटाले भन्नुभयो ‘यसमा हामी सबैको सहभागिता आ–आफ्नो टोलमा मात्रै रहने छ ।’

यसअघि लकडाउनको समयमा मञ्चले बटुवा र अस्पतालमा रहेकाहरुलाई खाना खुवाएको थियो । अहिले जिल्लामा रगतको चरम अभाव भए पछि रक्तदान अभियान सुरु गरेको हो । रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रक्तदाताहरु रगत दिन डराएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीसंँग जगेडा रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौं ।’

यसअघि दैनिक ६० पोकासम्म रगत संकलन हुदै आए पनि निषेधाज्ञा पछि रगत संकलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीको लागि पनि रगत पाउने अवस्था नभएको उहाँले बताउनु भयो । पौडेलका अनुसार जिल्लाका अस्पतालहरुमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत संकलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण बिगतमा रक्तदान गर्नेहरु समेत अहिले डराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>