Breaking News
कहिले खुल्लान् कोरोनाले थलिएका चितवनका चलचित्र हल ?

चितवन, भदौं ३
७ साउनबाट लकडाउन खुलेसँगै सबैतिर चहलपहल बढ्न थाल्यो । चितवनका चलचित्र हल सञ्चालकहरु पनि भदौं १ गतेबाट चलचित्र हल सञ्चालन गर्ने भन्ने सोचमा थिए । तर, विडम्बना परिस्थिति झनै असहज भयो । कोरोनाको संक्रमण दर बढ्दै गएपछि चलचित्र हल सञ्चालन गर्ने विषय पनि अनिश्चित बन्दै गएको छ ।
चैतको ८ गते ‘बाजी ३’ र अंग्रेजी ‘विलियम’ चलचित्र चलिरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरेपछि नारायणगढको जलमा चलचित्र हल बन्द गरिएको थियो । त्यसपछि भदौसम्ममा हल खोल्न पाइन्छ कि भन्ने आशा हलका व्यवस्थापक विकास पोखरेललाई थियो तर उहाँको आशा निराशामा परिणत भयो । अहिले ढुसी आएको हलमा दुई जना कर्मचारीले नियमित सरसफाइ गरिरहेका छन् । हलको विभिन्न शाखामा कार्यरत ३५ जना कर्मचारी पनि चलचित्र चल्ला भन्ने आशामा कुरिरहेका छन् तर चितवनसहित देशभर बढ्दै गइरहेको कोरोनाको संक्रमणले पोखरेलसहित चितवनका पाँच चलचित्र भवन सञ्चालकहरुलाई झनै निराश बनाइदिएको छ ।
आफ्नो घरमा सुरक्षित साथ बसिरहनु भएको जलमा हलका प्रवन्धक पोखरेलले नारायणी अनलाइनलाई भन्नुभयो, ‘ बैँकमा लोन लिएर व्यापार गरिरहेका छौं । अहिलेसम्म सरकारले चलचित्र प्रदर्शन व्यवसायलाई खासै सम्बोधन गरेको छैन तर पनि भोलि संक्रमण हटेपछि करलगायत विभिन्न विषयमा हामीलाई छुट देला भन्ने आशा छ ।’ क्यूएफ एक्स जलमा हलमा दुई हल रहेका छन् भने जम्म्मा ५३३ दर्शकले एकैसाथ चलचित्र हेर्न सक्ने क्षमता रहेको छ ।
कोरोना महामारी सहज होला, चलचित्र हलमा दर्शकहरुको चहलपहल फर्किएला भन्ने भन्ने आशा अझै धेरै समयका लागि पछि धकेलिएको छ । चलचित्र भवनमा दर्शकको प्रत्यक्ष भौतिक उपस्थिति आवश्यक हुने भएकाले तत्काल हल सञ्चालन गर्न सम्भव नभएको सञ्चालकहरु बताउँछन् । इन्द्रदेव चलचित्र भवनका व्यवस्थापक हरि रेग्मीले पहिले ज्यान सुरक्षित राखौं, बाँचियो भने पछि चलचित्र हेरौला भन्दै कोरोनाको त्रासलाई अभिव्यक्त गर्नुभयो । उहाँले ताला नखोलेर ढुसी आएको हलमा नियमित सरसफाइ भइरहे पनि चलचित्रको प्रदर्शन कहिले हुन्छ भन्ने विषय अनिश्चित नै रहेको बताउँनु हुन्छ ।
जम्मा ८३२ जना दर्शक क्षमता रहेको चलचित्र भवनमा पछिल्लो समय चैतको ६ गते ‘बाजी–३ ’ नामको चलचित्र चलेको थियो । त्यसपछि निरन्तर बन्द भएको भवनमा १८ जना कर्मचारी कहिले सुरु होला चलचित्रको प्रदर्शन भनेर आशा गरेर बसिरहेका छन् । यस्तै भरतपुरको सीजी ल्याण्डमार्क र पूर्वी चितवनका अन्य दुई चलचित्र भवनको अवस्था पनि त्यस्तै छ । महामारीको अवस्था सहज नभएसम्म चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छैन ।
भरतपुरको क्षेत्रपुरको घरमा दिन बिताइरहेका बालकुमारी कलेजका विद्यार्थी राम गुरुङ नियमित जस्तै नारायणगढका चलचित्र भवनमा चलचित्र हेर्न जानुहुन्थो । तर, अहिले उहाँलाई ती दिनहरु सपना जस्तै लागेको छ । चलचित्रको प्रदर्शन सकिएपछि इन्द्रदेव हलबाट बाहिरिने दर्शकको भीड हेर्दा उहाँ सधै खुसीले पुलंकित हुनुहुन्थ्यो । तर, अहिलेको कोरोना महामारीले चितवनको चलचित्र हलहरु पहिलेकै अवस्थामा तत्कालै फर्किएलान् भन्ने त उहाँलाई कत्ति पनि विश्वास छ्र्रैन । उहाँले भन्नुभयो, ‘ फेरि परिवारसँगै चलचित्र हलमा गएर फिल्म हेर्नै त अर्काे वर्षतिर मात्र होला ।’ उहाँले कोरोनाको औषधि पत्ता नलागेसम्म भवनको ताल्चा खोलेर चलचित्र पदर्शन भए पनि निर्धक्क भएर दर्शक रमाउन नसक्ने बताउनुभयो । उहाँजस्ता चलचित्रका पारखीहरु हलमा गएर हुटिङ गर्दै भीडभाडमा चलचित्र हर्नलाई त नेपालमा कोरोनाको संक्रमण निर्मुल हुनैपर्ने देखिन्छ ।
























