चितवन विशेष
वैदेशिक सहयोगका लागि कानुन संशोधन जरुरी : सांसद पोखरेल

देवघाट, भदौं २-
नेपालका गैरसरकारी संस्थालाई विदेशमा रहेका नेपालीबाट सहयोग हस्तान्तरण गर्दा अझै कानुनी जटिलता रहेकाले यसलाई संशोधन गर्न आवश्यक रहेको सांसद कृष्णभक्त पोखरेलले बताउनु भएको छ ।
‘जुम’ प्रविधिबाट आयोजित गुणनिधि खनाल मेमोरियल ट्रष्टको प्रथम साधारण सभामा अमेरिकामा रहेका नेपालीहरुसँग कुराकानी गर्दै प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिका सभापतिसमेत रहेका पोखरेलले नेपालमा अझै गैरसरकारी संस्थाका विषयमा पुरानै कानुन विद्यमान रहेकाले यसमा संशोधन आवश्यक रहेको बताउनु भयो । पोखरेलका अनुसार वैदेशिक लगानी सहज होस् भनेर मात्रै सरकारले नयाँ कानून ल्याएको छ ।
ट्रष्टले विशेष गरी देवघाटको स्वास्थ्य र शिक्षाका सरोकारका विषयमा काम गर्दै आएको छ । यसका सदस्यहरु नेपालदेखि अमेरिकामा रहेका नेपालीहरु छन् । विसं १९८५ मा जन्मिएका सामाजिक व्यक्तित्व गुणनिधि खनालको विसं २०६९ मा देवघाटमा देहान्त भएपछि उहाँकै सम्झनामा ट्रष्टको स्थापना गरिएको हो ।
अनलाइन कार्यक्रममा पोखरेललाई नेपालमा गैरनाफामूलक कार्यक्रम चलाउन अझै कानुनी जटिलता रहेको विषयमा अमेरिकामा रहेका नेपालीहरुले ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा पोखरेलले कानुनसम्मत ढंगले ट्रस्टलाई सहयोग गर्न तयार भएको विचार राख्नुभयो । आफू देवघाट क्षेत्रकै जनप्रतिनिधि भएकाले केन्द्र सरकारदेखि स्थानीय सरकारबाट सहयोग गर्ने विषयमा संयोजनकारी भूमिका निर्वाह गर्न पनि उहाँले प्रतिबद्धता जनाउनु भयो । नेपालको कानुनबाट नबाझिएसम्म ट्रष्टको नाममा जग्गा उपलव्ध गराउनसमेत सहयोग गर्ने पोखरेलको भनाइ थियो ।
अमेरिकादेखि देवघाटसम्म स्वास्थ्यको क्षेत्रमा प्रविधि हस्तान्तरणको काम स्वागतयोग्य भएको बताउँदै सांसद पोखरेलले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराका साथ नेपालमा काम गर्न गैरआवासीय नेपालीलाई अनुरोध गर्नुभयो ।
गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय संसदमा प्रवेश गरे पनि संसद स्थगित भएका कारण छलफल हुन नपाएको पोखरेलले साधारण सभामा जानकारी दिनुभयो । कार्यक्रममा अमेरिकाका वरिष्ठ अधिवक्ता एवम् एनआरएन इण्ट्रिगेसन कमिटीका अध्यक्ष खगेन्द्र जिसी, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाह, डा. क्याथ्रिन आर्सिनास, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, एन्फाका अध्यक्ष डा. पदम न्यौपाने, पूर्वअध्यक्ष सन्तोष सापकोटा, पूर्वअध्यक्ष डा. रेखा हमाललगायतले ट्रष्टले देवघाटमा गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभयो । उहाँहरुले प्राविधिक रुपबाट आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको पनि बताउनु भयो ।

यसैगरी साधारण सभामा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, डा. सन्तोष नेपाल, दुर्गा भुर्तेल, बुद्धिमान श्रेष्ठ, ट्रष्टकी सल्लाहकार सरस्वती रिजालले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य गर्दै डा. सन्ध्या बस्यालले नेपाल र अमेरिकामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबीच समन्वय गरेर देवघाटको स्वास्थ्य क्षेत्रमा काम गर्न लागिएको जानकारी दिनुभयो ।
साधारण सभामा उपाध्यक्ष हरिप्रसाद पोखरेलले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिर्जना खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ट्रष्टकी अध्यक्ष राधा खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण डा.कृष्णप्रसाद खनाल र नविन आचार्यबाट भएको थियो ।
कोरोनाका कारण प्रविधिको प्रयोग गरी जुमका माध्यमबाट ट्रष्टले साधारण सभाको आयोजना गरेको हो । कोरोनाको संक्रमणमा कमी भएलगत्तै र देशमा सहज स्वास्थ्यको वातावरण भएपछि साधारण सभाको निर्णयलाई लिपिबद्ध गरी सबै सदस्यको हस्ताक्षरसहित सम्बन्धित निकायमा पेस गरिने ट्रष्टले जनाएको छ ।
























