Breaking News
चितवनमा निशेधाज्ञा उल्लंघन गर्ने १ सय १३ जनालाई कारवाही

चितवन,भदौं १-
आज (सोमबार) देखि माडी नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा छ । भरतपुरमा भने शनिवारदेखि नै निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाका बेला सबै घरमै बस्नुपर्नेमा अझै केही मानिसहरुको सडकमा निस्कन थालेका छन् । सडकमा निस्कने मानिसहरुको संख्या बढ्न थालेपछि चितवन प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।
पहिलो र दोस्रो दिन न्यून मानिस मात्रै सडकमा देखिने गरेपनि आज तुलनात्मक रुपमा मानिसहरुको बढी सडकमा निस्कन थालेपछि चेकजाँचमा कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो ।
निषेधाज्ञा लागू भएको बेलामा विभिन्न बहानामा सडकमा निस्कनेलाई धमाधम नियन्त्रणमा लिन थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘हिजो अस्तिका तुलनामा आज मानिसहरु धैरै निस्कन थालेपछि चेकजाँच कडा पारेका छौं ।’
प्रहरीले भरतपुरको चौविसकोठी,हाकिमचोक र वीरेन्द्र क्याम्पस गेट अगाडि चेकजाँचमा कडाइ गरिरहेको छ । यस्तै चितवन प्रवेश गर्ने नाका नारायणी पुल र लोथरमा पनि चेकजाँचमा कडाइ गरिएको छ ।
निशेधाज्ञा जारी भएपछि चितवन भित्रने नाकाबाट २५ सय सवारीसाधन र १५ सय पैदलयात्रीलाई फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो । उहाँले जिल्ला भित्र भने केहीबेर होल्ड गरेर छाड्ने गरेको बताउनुभयो । सोमबार मात्रै १ सय १३ जनालाई कारवाही गरिएको छ भने १८ हजार राजश्व संकलन भएको छ ।
निषेधाज्ञाका बेलामा अतिआवश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको छ । सरकारी कार्यालयदेखि बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गरिएका छन । चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ ।
























