Breaking News
जनताको रोजाइ कुलमान नै किन ?

काठमाडौं,भदौ १-
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लागेको छ । उनको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
२०७३ सालको भदौ २९ गते कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सफलरुपमा पार गर्दै विदाई हुँदै छन् ।
बितेका चार वर्षमा प्राधिकरणको आँकडा केलाउदा पुरै कायापलट नै भएको देखिन्छ ।
आर्थिक वर्ष २०७२/७३ मा नेपाल विद्युत प्राधिकरणको वार्षिक घाटा ८ अर्ब ८९ करोड थियो । त्यही वर्ष कूल नोक्सानी ३४ अर्ब ६० करोड पुगेको थियो। गएको वर्ष प्राधिकरण सञ्चित नाफामा गएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार गएको वर्ष ११ अर्ब ५ करोड नाफा आर्जन गरेर प्राधिकरण ४ अर्ब ८६ करोड सञ्चित नाफामा गएको छ।
२०६८ सालमा धिकरणको नोक्सानी बढ्दै गएर सरकारले अपलेखन गरी शून्यमा पनि झारिदिएको थियो। त्यसपछि फेरि नोक्सानी थपिंदै गएर २०७३ सालमा ३४ अर्ब कूल नोक्सानी पुगेको थियो।
त्यसपछिका वर्षमा प्राधिकरणले निरन्तर नाफा कमाउँदै नोक्सानीलाई शून्य बनाएर करिब पाँच अर्ब सञ्चित नाफाको सुविधाजनक वित्तीय अवस्थामा पुगेको छ।
यतिबेला उनको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशकमा विभिन्न नामहरु चर्चामा आउन थालेका हुन् । तर, देशलाई नै लोडसेडिङमुक्त गरेर जनतामाझ वाहवाही कमाएका कुलामानको उत्तरधिकारीका रुपमा अब को आउलान् भन्नेमा सबैको चासो छ ।
कुशल व्यवस्थापकिय क्षमता प्रदर्शन गर्दै उनले आफ्नो कार्यकालमा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङलाई हटाएर देशलाई उज्यालो बनाए ।
धेरैजसोले उनलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । राजनीतिक भागबण्ड गरेर अन्य व्यक्तिलाई ल्याउन नहुनेमा सबैजसोको जोड छ ।
























