Breaking News
चितवनमा माडी बाहेक सबै स्थानीयमा तहमा निषेधाज्ञा लागू

चितवन, साउन ३२–
जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाको माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्धारा आज (आइतबार) जारी सार्वजनिक सूचनामा भदौं ५ गतेसम्मका लागि माडी बाहेकका स्थानीयमा तहमा निषेधाज्ञा जारी गरिएको हो ।
भरतपुर महानगरपालिकामा शुक्रबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएपनि पूर्वीचितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकासंगै इच्छाकामना गाउँपालिकामा आज (आइतबार) राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम माडी नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहहरुमा लागू हुनेगरि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निषेधाज्ञाका अवधिमा खुल्ने क्षेत्रहरुः
१. अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइने ।
२. लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरु ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु ।
४. स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु ।
बन्द हुने क्षेत्रहरुः
१. अत्यावश्यक सामग्री खरिद गर्न विहान ५ देखि ८ बजे र बेलुका ५ देखि ८ बजेसम्म बाहेक अन्य समयमा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र हिडडुल गर्न नपाइने ।
२. माथि उल्लेखित अतिआवश्यक बाहेकका निजी तथा सार्वजनिक साधन (दुई पाँग्रे र चार पाँग्रे) सबै संचालन गर्न नपाइने ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसल बाहेक अन्य सबै व्यापार व्यवसाय बन्द हुने ।
४. अत्यावश्यक बाहेकका सरकारी कार्यालय, गैर सरकारी संस्था, बैंक तथा वित्तिय संस्था एवंम सहकारी संस्थाहरु सबै बन्द ।
५. धार्मिक, संस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध)लगायत भेला जमघट, हुने कार्यहरु सबै बन्द ।
यो पनि पढ्नुहोस्:
रत्ननगरसहित पूर्वीचितवनका चार नगरपालिकामा आज रातिदेखि निषेधाज्ञा
























