Breaking News
रुसले थाल्यो ठूलो परिमाणमा कोरोनाको खोप उत्पादन, यस महिनाको अन्तिममा बजारमा आउने

एजेन्सी,साउन ३२-
रुसले कोरोना भाइरस विरुद्धको खोपको ठूलो परिमाणको उत्पादन शुरु गरेको छ ।
रुसको स्वास्थ्य मन्त्रालयले शनिबार कोरोना भाइरस विरुद्धको खोपको उत्पादन सुरु भएको जानकारी दिएको छ ।केही वैज्ञानिकहरुले रुसले राष्ट्रिय प्रतिष्ठालाई महत्व दिँदै स्वास्थ्य र सुरक्षामा भने कम प्राथमिकता दिएको भन्दै रुसको खोपमा आशंका व्यक्त गर्दै आएका छन् । रुसले भने उनीहरुको आरोप निराधार रहेको प्रतिक्रिया दिएको छ ।
विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणको दौड चलिरहेको अवस्थामा रुसले पहिलो कोरोनाविरुद्धको खोप बनाएको घोषणा गरेको हो । रुसले यो खोप यस महिनाको अन्तिममा बजारमा आउने बताएको छ । यो खोपलाई रुसले तेस्रो चरणको क्लिनिकल परीक्षण शुरु गर्नुभन्दा पहिला नै अनुमति दिएको हो । यो चरणको परीक्षण कुनै पनि खोपको लागि निकै महत्वपूर्ण मानिन्छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको बताएका छन् । उनले यो खोप पूर्णरुपमा सुरक्षित रहेको र आफ्नी छोरीले पनि यो खोप लगाएको बताएका थिए ।
























