Breaking News
प्रचण्डसँग नेकपाका तीन नेताको असन्तुष्टि, उठाए कार्यदलको वैधानिक हैसियतमाथि प्रश्न ?

काठमाडौं,साउन ३२-
नेकपाले गठन गरेको कार्यदलको वैधानिक हैसियतलाई लिएर तीन सचिवालय सदस्यले प्रश्न गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनमा असहमति नरहे पनि यसको गठन प्रक्रियामा भने वैधानिकता खोजी गरेका हुन्।
उनीहरूले शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेटे। दुई अध्यक्षको सहमतिमा मात्र कार्यदल गठन गरेर काम गर्नु वैधानिक नहुने र भोलि कार्यदलले बुझाएको रिपोर्टमा कुनै नेताले नमान्ने अवस्था आए त्यसले मान्यता पाउने÷नपाउने विषय संवेदनशील रहेको उनीहरूको भनाइ छ। त्यसैले पार्टी कमिटीको बैठक राखेर यस विषयमा निर्णय लिनुपर्नेमा त्यसो नगरिएकाले प्रक्रियागत रुपमा त्रुटि रहेको नेताहरूले बताएका छन्।
उनीहरूले तत्काल सचिवालय बैठक बोलाएर कार्यदल गठनको औपचारिक निर्णय लिन पनि दाहाललाई सुझाएका छन्। कार्यदल गठन दुई अध्यक्षको मात्र सहमतिमा गरिनु आफैंले उठाउँदै आएको विधि /पद्धतिलाई खण्डित गर्ने काम भएको नेपाल, खनाल र श्रेष्ठको भनाइ छ। उनीहरूले सचिवालय बैठकबाट कार्यदल गठन गरेको भए प्रक्रियागत रुपमा मिल्ने धारणा दाहालसँग राखेका थिए। ‘सचिवालयमा छलफल गरेर निश्चित कार्यादेश दिएर कार्यदल गठन गरेको भए हुन्थ्यो। त्यो प्रक्रियागत रुपमा मिलेन’, दाहालसँग नेताहरूले भनेका थिए।
वरिष्ठ नेता खनालका अनुसार कार्यदल कमिटीले बनाउनुपर्नेमा दुई अध्यक्षको मात्र सहमतिमा बनाएकाले प्रक्रियागत रुपमा नमिलेकाले नेताहरूले वैधानिकतामा प्रश्न उठाएका हुन्।























