Breaking News

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल सिन्धुपाल्चोकमा, जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरण गरिने

Banner

सिन्धुपाल्चोक, साउन ३१-

पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार सिन्धुपाल्चोक पुग्नु भएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्री सहित त्यसतर्फ जानुभएको हो ।

स्थलगत निरीक्षणपछि सो क्षेत्रमा खानेपानीका पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्य सामग्रीको ब्यवस्था गरिएको थियो । हाल सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले उद्धारका काम जारी राखेका थिए भने थप सहयोगका लागि नेपाली सेनाको एउटा टुकडी हेलीकप्टरमार्फत् सो क्षेत्रमा पु¥याइएको छ । मुख्यमन्त्री पौडेलले तत्काल अस्थायी बासस्थान राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो ।

सो स्थान बस्तीको लागि उपयुक्त नभएको स्थानीयले मुख्यमन्त्रीलाई जानकारी गराएका छन् । मुख्यमन्त्री पौडेलले स्थानीयको मागअनुसार बस्ती स्थानान्तरण गरिने बताउनुभयो । सिन्धुपाल्चोकका बस्तीहरु नै मानिसको बसोबास गर्न नमिल्ने, असुरक्षित रहेको बताउनुभयो । यहाँका बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो अगाडि बढाइने उहाँको भनाइ छ । सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको अरु केही विकल्प पनि नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘ हामी स्थानान्तरण मात्र हैन, जिविकोपार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्नुपर्छ ।’

स्थानीयहरुलाई परेको विपत्तिमा सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो । उचित ब्यवस्थापन गर्ने सरकारको दायित्व रहेकोले सरकारले तत्काल काम थाल्ने समेत बताउनुभयो । हालसम्म पनि स्थानीयहरु बेपत्ता रहेकोले उद्धार कार्य थप तीव्र बनाइएको पनि उहाँले जानकारी दिनुभायो । केही समय भित्रै समग्र सिन्धुपाल्चोकका समस्या हल गर्न सदरमुकाम चौतारामा वृहत् छलफलको आयोजना गर्ने पनि जानकारी दिनुभयो । त्यस क्षेत्रका सरोकारवालाहरुसँग गम्भीर छलफल गरी निकास निकाल्ने पनि उहाँको भनाइ थियो । उहाँले भन्नुभयो–‘ वाग्मती प्रदेशका मन्त्रीहरु, सांसद, जनप्रतिनिधिहरुलगायत अन्य सरोकारवालाहरुसँग प्राविधिकसहितको टोली राखेर छलफल गरेर निकास निकालिने छ ।’ सो क्षेत्रको अवस्थाका बारेमा प्रदेश सभा सांसद एवम् वाग्मती प्रदेशका अर्थ विकास समिति सभापति शुरेस नेपाल, जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ सो क्षेत्रको बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।

टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सुरेश नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर विके, मध्य पृतनापति ताराध्वज पाण्डे, वाग्मती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त लामाको टोली त्यसतर्फ गएको हो । सो क्षेत्रमा अहिले १७२ घरधुरी रहेका छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ । हाल सम्म १६ जनाको शव फेला परिसकेको छ भने २३ जना अझै बेपत्ता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>