चितवन विशेष
उवासंघ–चितवनका सदस्यहरुको निःशुल्क कोरोना बीमाको म्याद थपियो

चितवन, साउन ३०–
उद्योग वाणिज्य संघ–चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउंदै आएको निःशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ ।
उद्योग वाणिज्य संघ–चितवनको आज (शुक्रबार) बसेको बैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण गर्ने सदस्यहरुलाई रु. ५० हजार बराबरको निःशुल्क कोरोना बीमा गरिदिने निर्णय गरेको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र गतिमा बढ्दै गएको र व्यवसायी सदस्य यसको जोखिममा रहेकोले यसको म्याद थपिएको संघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक शिरिस पन्तले जानकारी दिए ।
संघमा आवद्ध करिब ५ हजार सदस्यहरुको नै निःशुल्क बीमा गरिदिने कार्यक्रम बमोजिम असाज मसान्तसम्मको म्याद थप गरिएको पन्तले बताए । उद्योग वाणिज्य संघ–चितवनले सो योजना गत असार महिनादेखि लागू गरेको र एक जना व्यवसायीलाई कोरोना संक्रमणको पुष्टि भईसकेकोले बीमा रकम उपलब्ध गराउन लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए ।
यस्तै संघले आज एक सूचना जारी गर्दै विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम एक हप्ताको लागि भरतपुर महानगरपालिकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेकोले उद्योग व्यवसाय बन्द गरि आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहन नेपाल सरकारद्धारा लागू गरेका स्वास्थ्य तथा सुरक्षाका उपायहरु अबलम्बन गर्न अनुरोध गरेको छ ।
























