Breaking News
चितवनका १२ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, साउन २९–
चितवनका १२ जनासहित १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा चितवनका १२ जना, मकवानपुर, नवलपुर, सर्लाही र तनहुँका एक/एक जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
चितवनमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं.२, ४, ७ र १० नम्बरका ८ जना पुरुष र एक जना महिला रहेका छन् । संक्रमित पुरुषहरुमा २० देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । यस्तै संक्रमण पुष्टि हुने एक महिला २५ वर्षीया हुन् ।
यस्तै पूर्वीचितवन राप्ती नगरपालिका–९ की ३७ वर्षीया महिला, रत्ननगर नगरपालिका–१३ का ६३ वर्षीय पुरुष, खैरहनी–८ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।
यस्तै मकवानपुरका २२ वर्षीया महिला, नवलपुरका २८ वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष र तनहुँकी २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँकी महिला पुरानो मेडिकल कलेजमा उपचाररत छिन् भने अन्यको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । यससंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या १६४ पुगेको छ ।
























