चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराललाई व्यवसायीले दिए विभिन्न सुझाव

Banner

सौराहा, साउन २६

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई आइतबार सौराहामा स्वागत गरिएको छ । स्वागतमा सौराहाका स्थानीय व्यवसायी र जनप्रतिनिधिले विभिन्न विषयमा सुझाव तथा माग राखेका छन् ।

सामुदायिक वन दिवसको अवसरमा बाघमारा मध्यवर्ती सामुदायिक वनले बराललाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा प्रमुख संरक्षण अधिकृत बरालले वाइल्ड लाइफ टुरिजमको विकास अहिलेको आवश्यकता रहेको बताउनु भयो । यसलाई कसरी राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने कुरामा सधै हातेमालो गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।

वन र वन्यजन्तुमा निर्भर यहाँको पर्यटन व्यवसायलाई खस्किन नदिन वन र वन्यजन्तु संरक्षणनै प्रमुख आधार भएको बताउँदै प्रमुख संरक्षण अधिकृत बरालले विगतमा जस्तै यो पटक पनि आफूले यहाँका व्यवसायी र संरक्षणकर्मीहरुबाट सहयोग पाउने आशा राख्नु भयो । यसअघि पनि चितवन बसाइको क्रममा स्थानीयले सहयोग गरेको कुरालाई स्मरण गर्दै संरक्षण अधिकृत बरालले संरक्षणको पक्षमा नेपाल सरकराको निर्देशन र कानुन भन्दा तलमाथि जान नसकिने स्पष्ट पार्नुभयो । यसअघि पनि बराल २०६३ देखि २०६७ सालसम्म चितवनमा काम गर्नुभएको थियो । त्यो अवधिमा उहाँले तीन वर्ष निकुञ्जको सहायक संरक्षण अधिकृत भएर काम गर्नु भएको थियो । बाँकी समय मध्यवर्ती क्षेत्रमा काम गर्दै आएको तराई भूपरिधि कार्यक्रम (ताल)मा पनि काम गर्नु भएको थियो ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा रत्ननगर नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष लालबहादुर भट्टले चितवन राष्ट्रिय निकुञ्जका विभिन्न ठाउँमा ५ देखि ६ फिट सम्मको अग्लो ढिस्को बनाउन सुझाव दिनुभयो । बाढीका कारण गैँडालगायतका वन्यजन्तुहरु बगाएर भारत पुग्ने गरेको भन्दै वडा अध्यक्ष भट्टले त्यस्ता खालको संरचना बनाउन सकिए वन र वन्यजन्तुलाई बाढीको बेला सहज हुने बताउनुभयो । .

कार्यक्रममा क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले राष्ट्रिय निकुञ्जमा जीप सफारीको ट्रयाक थप्न सुझाव दिनुभयो । पर्यटनको सम्भावना राम्रो भएर पनि जीप सफारीका लागि एउटै ट्याक भएकाले बाटोमा पर्यटकको चाप बढने गरेको उहाँको विचार थियो ।. पर्यटकलाई खुसी बनाउन पनि निकुञ्ज भित्र ट्याक थप्नुपर्ने उहाँको भनाइ छ .। जीप सफारीका लागि जाने र आउने फरक फरक बाटो सञ्चालन भएमा पर्यटकहरु थप खुसी हुनेछन् घिमिरेले भन्नुभयो ।

कार्यक्रममा पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समितिका राममणि खनालले वन र वन्यजन्तु संरक्षणको पक्षमा यहाँका स्थानीयहरु सचेत रहेको बताउनु भयो । . कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले सौराहाको कुमरोज सामुदायिक वन हुँदै लोथरसम्म जिप सफारी सञ्चालन गर्न सकिए सौराहा क्षेत्रमा धेरै पर्यटक ल्याउन सकिने बताउनु भयो । . बेलुकी ५ बजेपछि राप्ती नदी किनारै किनार तथा बस्तीको छेउछाउ हुँदै सफारी चलाउन सके त्यसले पनि पर्यटकका लागि थप कार्यक्रम हुने उहाँको विचार थियो ।. वन र वन्यजन्तुलाई असर नहुनेगरी व्यवस्थापन गर्न सके यो सेवा पनि महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

कार्यक्रममा क्षेत्रीय रेवानका अध्यक्ष दीपेन्द्र खतिवडा, वाइल्डलाईफ भिक्टिम फण्डका अध्यक्ष डोमा पौडेल, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्ती सामुदायिक वनका कार्यवाहक अध्यक्ष घनश्याम तिमलसिना, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, नेचर गाइड एशोसिएसनका अध्यक्ष राजेन्द्र धामीले सुझाव तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले चितवनको पर्यटन विकासका लागि नयाँ प्याकेज कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । उहाँले निकुञ्ज, स्थानीय सरकारसँग सहकार्य गरी पर्यटनलाई नौलो कार्यक्रम ल्याउन सके पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>